‘संविधान संशोधन गराउन नेकपासँग सहमति’–संयोजक यादव

167
यादगारी दिवस कार्यक्रममा बोल्दै राजपा संयोजक राय तथा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सरकारमा जानका लागि नभएर संविधान संशोधन गराउनका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहमति गरिएको राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय संयोजक महेन्द्र प्रसाद राय यादवले बताएका छन् ।

सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार आयोजित १४ औं ‘यादगारी दिवस’लाई सम्बोधन गर्दै संयोजक यादवले छातिमा ढुंगा राखेर नेकपा सरकारसँग सम्झौता गरिएको बताए । संविधान संशोधन र मधेश आन्दोलनको क्रममा झुटा मुद्दा लागेकाको मुद्दा फिर्ता गराउनका लागि सम्झौता गरेको यादवको भनाइ छ । नेकपा सरकारसँग मिलेर गएमात्र मधेसको माग सम्बोधन हुने भएकाले सम्झौता भएको उनको भनाइ छ । ‘कुनै पनि शर्तमा राजपा सरकारमा जाँदैन’, उनले भने, ‘यदि कसैले राजपामा सरकारमा जान्छ भनेर सपना देखेको छ भने त्यो दिवा सपना मात्र हो ।’

अर्को प्रसंगमा संयोजक यादवले राजपा र समाजवादी बीचको एकता केही दिनमा हुने बताएका छन् । मुलुकको आवश्यकताका लागि राजपा र समाजवादी पार्टीको एकता अनिवार्य भएको उनको भनाइ छ । पार्टीको नाम, चुनाव चिह्न र पार्टीको झण्डाको विषयमा सहमति भइसकेको छ। नेतृत्वको सबालमा पनि करिब–करिब सहमति भइसकेको छ। महन्थ ठाकुर पार्टीको नेता हुने विषयमा सहमति भइसकेको उनले बताए । २०६३/०६४ को मधेश आन्दोलनको क्रममा माघ २० गते हरिवनमा एकजना तथा २१ गते मलंगवामा ४ जना सहित पाँचजना सहादत प्राप्त सहिदको सम्झनामा राजपाले हरेक वर्ष ‘यादगारी दिवस’ मनाउँदै आएको छ ।