ईन्दुशंकर चिनी उद्योगमा स्थानीयले गरे तालाबन्दी

699
बुधबार दिउँसो ईन्दुशंकर चिनी उद्योगको मुलगेटमा तालाबन्दी सहित धर्ना कार्यक्रममा सहभागि भई सम्बोधन गर्दै हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – स्थानीय बासिन्दाले बुधबार ईन्दशंकर चिनी उद्योगको मूलगेटमा दुईघण्टा तालाबन्दी सहित धर्ना दिएका छन् । वर्षौंदेखि माग राखेपनि प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका आक्रोशित स्थानीय बासिन्दाले ईन्दुशंकरमा तालाबन्दी एवं धर्ना दिएका हुन् ।
प्रदुषण नियन्त्रणका लागि दबाव दिने उद्धेश्यले स्थानीय बासिन्दाद्वारा गत शनिबार गठित संघर्ष समितिको आव्हानमा बुधबार बिहान ११ बजेदेखि दुईघण्टा उद्योगको मूलगेट सहित तीनवटा गेटमा तालाबन्दी एवं धर्नाको कार्यक्रम भएको हो । संघर्ष समितिको तालाबन्दी कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु यज्ञविनोद ढुंगेल, शेष मेहबुब रेजा लगायत समेत सहभागि थिए ।
संघर्ष समितिका संयोजक सुरेश भट्टराईले आफूहरुले वर्षौंदेखि माग राख्दै आएपनि उद्योगले कुनै सुनुवाई नगरेको र यसपटक समेत वेवास्ता भएपछि बाध्य भएर तालाबन्दी लगायत आन्दोलनका चरणबद्ध कार्यक्रम अगाडी सारिएको बताए । ‘तीन दिने अल्टिमेटम दिएर आन्दोलनमा उत्रिएका हौं, उद्योगले वार्तामा बोलाएपछि हिजो छलफल समेत ग¥यौं तर लिखित प्रतिबद्धता माग्दा दिईएन’, संयोजक भट्टराईले भने, ‘वार्ताका क्रममा उद्योग पक्षबाट प्रदुषण नियन्त्रण गर्न एकवर्ष लाग्ने भनियो अनि हाँमीले एकवर्ष भित्र प्रदुषण नियन्त्रण नभए उद्योग बन्द गर्न तयार छौं भन्ने लिखित प्रतिबद्धता माग्यौं, तर उद्योगपति सहितले त्यस्तो प्रतिबद्धता त दिन सकिदैन भनेपछि हाँमी चरणबद्ध आन्दोलन गर्ने तयारी साथ वार्ता छाडेर हिड्यौं ।’ वर्षौंदेखि प्रदुषण नियन्त्रणको माग राखेर आन्दोलन गर्दा उद्योगसँग वार्ता गर्ने अनि सहमति गर्ने तर सहमति कार्यान्वयन नहुने परिस्थितीबाट आफूहरु गुज्रिरहेको संयोजक भट्टराईले गुनासो गरे । ‘यसपटक पनि उधारो सहमति गरेर हाँमीलाई आलटाल गर्न खोजिएकाले बाध्य भएर तालाबन्दी लगायत आन्दोलनका कार्यक्रम अगाडी सारेका छौं ।’, भट्टराईले भने, ‘अब हरेक दिन उद्योगमा तालाबन्दीको समय बढाउँदै लैजाने छौं ।’
तालाबन्दी एवं धर्ना कार्यक्रममा सहभागि उपमेयर पौडेलले उद्योगले प्रदुषण नियन्त्रण गर्नुपर्ने माग गरिन् । ‘चिनी उद्योगबाट निस्कने धुलो धुवाँ अनि डिष्टिलरीको दुर्गन्धले स्थानीय बासिन्दा वर्षौंदेखि पीडामा परिरहेका छन्’, उपमेयर पौडेलले थपिन्, ‘उद्योगलाई प्रदुषण नियन्त्रणका लागि नगरपालिकाले समेत पटक–पटक ताकेता गर्दै आएको छ, तर उद्योगबाट कुनै सुनुवाई भएको छैन ।’
उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाल भने आफूहरु प्रदुषण नियन्त्रण हुनुपर्छ भन्ने स्थानीयको मागमा सकारात्मक रहेको बताउँछन् । ‘मंगलबारको वार्ता अत्यन्त सकारात्मक ढंगले अगाडी बढ्यो, हाँमीले प्रदुषण नियन्त्रणका लागि गरिरहेको प्रयास बारेमा वार्तामा सहभागिहरुलाई विस्तृतमा जानकारी गरायौं’, नेपालले उज्यालो अभियानसँग भने, ‘लिखित प्रतिबद्धताको बारेमा केही शब्दहरु लेख्ने विषयमा भने हाँमी अलि गम्भिर भएका छौं, त्यस विषयमा पनि हाँमी भित्र गम्भिर ढंगले छलफल भईरहेको छ ।’ स्थानीयले व्यवस्थापनसँग मात्रै कुरा गर्दैनौं भन्ने माग राखेकाले यसपटक उद्योगका मालिक राजेश केडियासँगै कुरा गराउने प्रयास गरिएको र केडिया बिरामी भएकाले अनुपस्थित हुने भएपछि सञ्चालक केडियाका छोरा शुभम केडिया स्वयं नै वार्तामा सहभागि भएको नेपालको कथन छ ।
हनुमानचोक, बाँसाटोल, पाख्रीन टोल लगायत उद्योग वरिपरीका बासिन्दा धुलो धुवाँ र दुर्गन्धबाट वर्षौंदेखि पीडित बनिरहेको संघर्ष समितिका संयोजक भट्टराईले गुनासो गरे । उद्योग व्यवस्थापनलाई वर्षौंदेखि पटक–पटक ज्ञापन बुझाउने अनि वार्ता मार्फत सहमति गर्ने बाहेक केही उपलब्धी हाँसिल नभएको र यसपटक भने उधारो सहमति भन्दा पनि ठोस उपलब्धी हाँसिल नभएसम्म संघर्ष जारी रहने उनको भनाई थियो ।
स्थानीय बासिन्दाका अनुसार चिनी उद्योगको चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुने गरेको छ । त्यस्तै घरभरी कालो धुलो पस्ने गरेकाले घरभित्रै बसेर खाना खाँदा समेत भागभरी कालो धुलो छपक्कै हुने गरेको संघर्ष समितिका प्रचार प्रसार संयोजक विनय न्यौपानेले गुनासो गरे ।
धुलो, धुवाँको प्रदुषण अनि चिनी उद्योग अन्तर्गतकै अमरावती डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानीको दुर्गन्धले स्थानीयमा स्वाशप्रस्वाश लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको समितिका संयोजक भट्टराईको दाबी छ ।