सर्लाही ल्याउँदै गरेको ५५ किलो गाँजासहित ६ जना पक्राउ

838
गाँजा सहित पक्राउ परेका अभियुक्त ।

सिन्धुली – सिन्धुली प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

हरिहरपुरगढी–७ केमनचुलीको कच्ची सडकबाट तीन वटा मोटरसाइकलमा सर्लाहीतर्फ लैजादै गर्दा गाँजासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट डिएसपी खत्री र क्यानेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी सदरमुकाम ल्याएको थियो । उनीहरुले पाँच केजीका ११ वटा पोका बनाएर गाँजा लैजादै गरेको अवस्थामा पक्राउ गरिएको खत्रीले बताए ।

पक्राउ पर्नेहरुमा हरिहरपुरगढी गाउँपालिका–७ का १८ वर्षीय सन्तोष स्याङतान र आकास बल, २४ वर्षीय अंकित मोक्तान र २४ वर्षीय सरोज स्याङतान, मरिण गाउँपालिका–२ का ३५ वर्षीय तिलकध्वज मोक्तान र सर्लाहीको वाग्मती नगरपालिकाका २४ वर्षीय श्रवणकुमार वाइवा रहेको डिएसपी खत्रीले जानकारी दिए । उनीहरुले प्रयोग गरेका ना. ५८ प. ८५१, ना. ४६ प. २३१० र ना.७ प. २४१६ नम्बरका मोटरसाइकल, ६ वटा मोबाइल एवं केही नगद बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरेको एक पोका गाँजाको बजार मूल्य अहिले ५० हजार रुपैंयाँ रहेको डिएसपी खत्रीले बताए ।