सर्लाहीको चुरे क्षेत्रका खोलामा अवैध उत्खनन्, प्रशासन र स्थानीय तहको बेवास्ता

586
लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित चुरेको खहरे खोलामा ढुंगा टिप्न पुगेका ट्याक्टर । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको चुरेभेगका खहरे खोलामा व्यापक मात्रामा अवैध उत्खनन भइरहेको पाइएको छ ।

स्थानीय तह र प्रशासनको बेवास्ताका कारण चुरेका खोलाबाट तस्करले आफू अनूकुल जथाभावी गिट्टी, बालुवा र ढुंगा उत्खनन गरिरहेका पाइएको हो । वातावरणीय प्रभाव (ईआईए) मूल्यांकन बिनै मनपरी किसिमले खोला उत्खनन गर्दा जोखिम बढेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् । जथाभावी उत्खनन गर्दा बाढी पहिरोको जोखिम बढेको स्थानीय बताउँछन् ।

जिल्लाको बाँके, फुलजोर, कालिन्जोर, लखन्देही र बागमती खोलामा बाहेक अन्य खहरे खोलामा स्थानीय तहले प्राकृतिक स्रोतको उत्खननका लागि ठेक्का लगाएका छैनन् । तर चुरेका सबैजसो खहरे खोलाबाट दैनिक दर्जनौँ ट्याक्टरले गिट्टी, बालुवा र ढुंगा उठाइरहेका देखिन्छ । घरायसी प्रयोजनका लागि भन्दै त्यसरी अवैध किसिमले निकालिएका गिट्टी बालुवा र ढुंगा बिक्रीका लागि अन्यत्र निकासी हुँदै आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

चुरेका खोलाबाट निकालिएको ढुंगा गाउँमै प्रति टिप (एक टेलर) एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ । अन्यत्र निकासी गर्दा त्यो भन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ । कानुन विपरीत निकालिएको गिट्टी बालुवा र ढुङ्गा अवैध रुपमा सञ्चालित क्रसर उद्योगमा समेत पुग्छ ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले चुरेमा भइरहेको अवैध उत्खनन रोक्ने प्रयास गरिरहेको बताए । ‘चुरेका खोला ठेक्का लगाउन पाइँदैन, कसैले लुकिछिपी उत्खनन गर्छ भने त्यो अवैध हो’, नगरप्रमुख खड्काले भने, ‘अवैध उत्खनन रोक्नेबारे प्रशासनलाई बारम्बार भनिरेहका छौँ, हामीले पनि आफ्नो हि’साबले रोकिरहेका छौँ ।

हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले केही स्थानीय वासिन्दाले घरायसी प्रयोजनका लागि गिट्टी बालुवा निकालेपनि नगरभित्रका खोलामा ठूलो मात्रामा अवैध उत्खनन नभएको दावी गरेका छन् । उनका अनुसार यस वर्ष हरिवन नगरपालिकाले लखन्देही खोलाबाहेक अन्य खोला ठेक्का लगाएको छैन् ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले चुरेभेगका खोलामा अवैध उत्खनन भइरहेको गुनासो आइरहेको स्वीकार गर्दै नगरपालिकादेखि निकै टाढा विकट क्षेत्रमा पर्ने चुरेमा भइरहेको अवैध उत्खनन रोक्न समस्या भइरहेको बताए । ‘कहिले काँही अनुगमनमा जाँदा चुरेको दोहोन देखेर चिन्ता लाग्छ, हामी बसेको स्थान (बयलवास) चुरेभन्दा निकै टाढा रहेकाले जानकारी हुँदा हुँदै पनि दोहन रोक्न सकेका छैनौँ’, नगरप्रमुख देवकोटाले भने, ‘अवैध उत्खनन रोक्न स्थानीय वासिन्दालाई बढी सक्रिय भइदिन आग्रह गर्छु ।’

बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले नगरभित्रका खहरे खोलामा अवैध उत्खनन नभएको दावी गरेकी छिन् । उनले बागमती खोलामा भने वातावरणीय प्रभाव (ईआईए) मूल्यांकन गरेर मापदण्ड अनुसार नै उत्खनन भइरहेको बताईन् । गत वर्ष प्रदेश सांसदको नेतृत्वमा नदी तथा खोलाहरुको उत्खननको अवस्था बुझ्न गठित समितिले सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती खोलामा मापदण्ड विपरीत उत्खनन भइरहेको निष्कर्ष निकालेको थियो ।