बागमतीका वडाध्यक्ष सहितको भेट्रान नेपाली टिम भारतमा उपविजेता

965
वागमती नगरपालिकाका वडाध्यक्ष दिपक लामा (अग्रपंक्तिमा सबैभन्दा बायाँ) सहितको सिएमजी क्लबको टिम ।

हरिवन, माघ २० – सर्लाहीको बागमती नगरपालिकाका वडाध्यक्ष सहितको नेपाली भेट्रान फूटबल टिम भारतमा उपविजेता भएको छ ।

बागमती नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपक लामा सम्मिलित नेपाली सिएमजी क्लब भारतमा सम्पन्न भेट्रान फूटबल प्रतियोगितामा उपविजेता भएको हो । उपविजेता भएसँगै टिमले ३० हजार भारतीय नगद सहित फष्ट रनर अपको उपाधी हाँसिल गरेको वडाध्यक्ष लामाले जानकारी दिए ।
लामाका अनुसार श्रीलंका, बंगलादेश, भारत र नेपालका गरी १२ टिम सहभागि भेट्रान फूटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्लाही निवासी पूर्व सांसद् नरेन्द्र साहको सिएमजी क्लबले सहभागिता जनाएको थियो । नेपाली टिमले भारतका चर्चित खेलाडी भाईचुँ भुटिया आवद्ध सिक्किम युनाईटेड सहित दिल्ली, कलकत्ता र युनाईटेड बदर्श टिमलाई हराएको लामाले जानकारी दिए ।
नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान बालगोपाल महर्जनको नेतृत्वमा नेपाली भेट्रान फूटबल खेलाडीहरुलाई सिएमजी क्लबले भारत खेल्न पठाएको थियो । नेपाली टिम सोमबार दिउँसो नेपाल फर्किएको छ । भेट्रान टिममा ४५ वर्ष नाघेका कम्तिमा तीनजना सहित ४० वर्ष नाघेका पूर्व फूटबल खेलाडीहरु सहभागि थिए ।