सर्लाहीको गोडैता र परवानीपुरमा सवारी दुर्घटना, तीनको मृत्यु

565

सर्लाहीको गोडैता र परवानीपुरमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।


जिल्लाको दक्षिणी भेगमा पर्ने गोडैता नगरपालिका–७, मोहन चोकमा शनिवार राती नम्वर पहिचान नभएको गाडीले बरहथवास्थित लौकठ हीरापुरबाट सदरमुकाम मलंगवातर्फ आइरहेको बीआर ३० एच ६७९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।


सो दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–२, का २० वर्षीय उपेन्द्र सोनार र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षकै राजेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनारको घटनास्थलमै र यादवको उपचारका क्रममा आइतवार बिहान जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनास्थमै मृत्यु भएका मोटरसाइकल चालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालतर्फ ल्याउन अहिले सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरकै नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

यस्तै जिल्लाको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीमा शनिवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रानीगञ्जबाट परवानीपुरतर्फ गइरहेको ना १९ प २१६० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।