व्यापारीलाई सिकाउँदै राजश्वका कर्मचारी

212
कार्यक्रममा राजश्व अनुसन्धानका कर्मचारी समक्ष जिज्ञासा राख्दै उद्योग वाणिज्य संघ हरिवनका वरिष्ठ उपाध्यक्ष राजन केसी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले आईतबार हरिवनमा एक कार्यक्रम गरी उद्योगी व्यवसायीलाई ‘भेईकल एण्ड कन्साईमेण्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) बारेमा जानकारी गराएको छ

उद्योग वाणिज्य संघ हरिवन र राजश्व अनुसन्धान कार्यालयको संयुक्त आयोजना रहेको अन्तरक्रिया कार्यक्रममा राजश्व कार्यालय पथलैयाका प्रमुख राजन विसी, राजश्व अनुसन्धान अधिकृत विजय कुमार विडारी लगायतले उद्योगी व्यवसायीलाई भीसीटीएस एवं राजश्व सम्बन्धी विषयमा विस्तृतमा जानकारी गराएका थिए । कार्यक्रममा रौतहट र सर्लाहीका सयौं उद्योगी, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
ग्रामीण स्वयं सेवक समाजको सभाहलमा खचाखत भरिएका व्यवसायीहरुले राजश्वका कर्मचारीसँग भीसीटीएस सहित राजश्व क्षेत्रका बारेमा जिज्ञासा राखेका थिए । राजश्व अनुसन्धान कार्यालयका कर्मचारीले व्यवसायीहरुलाई बुझाउने काम गरेका थिए ।

उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । उद्योग वाणिज्य संघ हरिवनका महासचिव रामचन्द्र गौतमको सञ्चालन रहेको कार्यक्रममा सर्लाही स्थित उद्योग वाणिज्य संघ हरिवन, लालबन्दी, बरहथवा, मलंगवा, तथा रौतहटको उद्योग वाणिज्य संघ चन्द्रपुर लगायतमा आवद्ध व्यवसायीहरुको भिड थियो ।

भीसीटीएस लगायत राजश्व बारेमा उद्योगी व्यवसायीहरुमा अन्यौलता रहेकाले राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोली बोलाएर अन्तरक्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।