पठनपाठनको माध्यम अंग्रेजी कि मातृभाषा ?

1445
– गिरिराज राना

–गिरीराज राना
‘‘हाम्रो ‘भिलेज’ ‘हरिवन म्युनिसिपालिटी’मा पर्छ ।’’
‘‘मेरो ‘फेभरेट मोबाईल गेम’ ‘पबजी’ हो ।’’
‘‘म ‘नेप्लीज मुभि’ हेर्दीन । ‘इङ्लिस मुभि’ हेर्छु ।’’
“आज कुन ‘सब्जेक्ट’ को ‘एक्जाम’ हो ?’’
“आज मैले ‘एप्पल’ खाएँ ।’’
हिजोआज हाम्रो नानिबाबुले बोल्ने ‘नेपाली’ यस्तै हुन्छ । यसको प्रमुख कारण अंग्रेजी प्रतिको हाम्रो लगाव हो ।
पछिल्लो समय विश्वबजारमा प्रतिस्पर्धी हुन नेपालका करीब ३० हजार सामुदायिक विद्यालयमध्ये कतिपयले अंग्रेजी माध्यमको पठनपाठनलाई प्राथमिकता दिएका छन् । अंग्रेजी भाषामा अब्बल बनाउन अभिभावकले आफ्ना छोराछोरीलाई अंग्रेजी माध्यमको निजी विद्यालयमा पढाउने क्रम बढेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पढाउन जोड दिएका हुन् । यसका केही उदाहरणमा सर्लाही जिल्लाको जनज्योति माध्यमिक विद्यालय लालबन्दी, महादेव जनता माध्यमिक विद्यालय हरिवन, सिन्धुलीको गौमती माध्यमिक विद्यालय, निजगढको गौरीशंकर माध्यमिक विद्यालय लगायतका देशैभर थुप्रै माध्यमिक विद्यालयहरु रहेका छन् ।
अभिभावकको इच्छा अंग्रेजी भएकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरु घट्न थालेको र कुशको विद्यार्थी बनाएर पढाउनु पर्ने अवस्था आउने त हैन भनेर चिन्ताको कारणले पनि सामुदायिक विद्यालयहरुले अंग्रेजी भाषामा पठनपाठन सुरु गरेका छन । अर्र्र्कोितर सामुदायिकको भन्दा अंग्रेजी माध्यमबाट सञ्चालित सँस्थागत विद्यालयको सिकाइ उपलब्धी धेरै भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अनुसन्धानले देखाएको कारणले गर्दा पनि अंग्रेजी हाइहाइ भएको छ । त्यसैगरी वैदेशिक अध्ययनका लागि पनि अंग्रेजी भाषालाई प्राथमिकता दिने चलन छ । त्यसैले अंग्रेजी माध्यममा शिक्षण अभिभावक तथा विद्यार्थीको आवश्यकता भएको छ र सामुदायिक विद्यालयहरुमा यसको सुरुवात गरिएको छ । यसो हुँदाहुँदै पनि सामुदायिक विद्यालयको अंग्रेजी माध्यमको शिक्षामा उल्लेखनीय सुधार आउन सकेको छैन ।
हामी सबैलाई थाहै छ, अंग्रेजी एक पश्चिमी जगतमा बोलिने प्रख्यात भाषा हो । सुरुमा, केवल इंग्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड जस्ता देशहरुमा अंग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो । यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो । अंग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय भाषाको रुपमा पनि बोलिन्छ ।
विक्रम सम्बत २०४७ पछिका वर्षहरुमा नेपाली भाषाको अवस्था खस्किदै गएको छ । अंग्रेजी भाषाले नेपाली भाषालाई विस्थापित गरिरहेको छ । विशेष गरी सिकाइको माध्यमको रूपमा । यसको मूल कारणचाहिँ निहित स्वार्थ नै हो तर यस प्रकारको नीतिको पक्षमा जुन तर्क दिइन्छ‚ त्यो निम्न प्रकारको हुन्छ । पहिलो तर्क अंग्रेजी ज्ञान विज्ञानको भाषा हो अनि ज्ञान विज्ञानमा प्रगतिका लागि अंग्रेजीमा पारंगत हुन आवश्यक छ । दोस्रो तर्क भनेको अंग्रेजी भाषा एक अन्तर्राष्ट्रिय भाषा हो अनि यो बिना अन्तर्राष्ट्रिय लेनदेन सम्भव छैन । त्यसैगरी नेपाली माध्यम पढ्नेहरुको नेपालीमा उत्तर लेखेकोमा राम्रो अंक नआउने तर अंग्रेजी माध्यम पढ्नेहरुको अंग्रेजीमा लेखेमा राम्रो अंक आउने परिणामले गर्दा पनि अधिकांश अभिभावकहरु अंग्रेजी भाषा प्रति लालायित छन् ।
माथि दिइएका यस प्रकारका तर्क ज्ञान विज्ञान, शिक्षा, भाषा अनि अन्तर्राष्ट्रिय स्थितिबारे सत प्रतिशत अज्ञानताको प्रमाण हो । संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान अनि संस्कृतिको संगठन (युनेस्को) को पुस्तक ‘शिक्षामा स्थानीय भाषाहरूको प्रयोग’मा भनिएको छ कि ‘के स्वतःसिध्द छ भने नानीहरूका लागि शिक्षाको सर्वोत्तम माध्यम उनीहरूको मातृभाषा हो । मनोवैज्ञानिक आधारमा मातृभाषा सार्थक चिन्हहरूको यस्तो प्रणाली हो जुन प्रकटीकरण अनि बोधका लागि नानीहरूको दिमागमा स्वचालित रूपमा काम गर्दछ । सामाजिक आधारमा जुन जनसमूहका सदस्यहरूसँग उनीहरूको सम्बन्ध हुन्छ तिनीहरूसँग एकात्म हुनुको साधन हो, मातृभाषामा शैक्षिक आधारमा नानीहरू मातृभाषाको माध्यमबाट एक अपरिचित माध्यमको अपेक्षा छिटो सिक्छन्’ (युनेस्को सन् १९५३ः ११)। फिलिपिन्सको उदाहरण पनि हेरौं । ‘फिलिपिन्समा दोभाषे शिक्षा नीतिका दुई भाषाहरू (टागालोग अनि अंग्रेजी)मा पारंगत विद्यार्थी ती विद्यार्थीहरूलाई पछि पारिदिन्थे जो घरमा टागालोगमा कुरा गर्दैन थिए’ (युनेस्को सन १९६८, पाना ६१)। यसैगरी विद्यार्थीलाई अंग्रेजी आउँदैन भने उनीहरू विज्ञान र गणित सिक्न पाउँदैनन् भन्ने घारणा पनि गलत हो । हाम्रो आँखा अगाडि छर्लंग छ कि अंग्रेजी भाषाबिनै रूसी, जर्मन अनि फ्रान्सेली भाषा बोल्ने मानिसहरूले विश्वमा उच्चतम वैज्ञानिक खोजहरू गरेका छन् । अनि निम्न पङ्ति त खासगरी अंग्रेजीभाषी देश अमेरिकाबारे छ, ‘अमेरिकामा जुन नवायो भाषी नानीहरूलाई प्राथमिक स्तरमा उनीहरूको प्रथम भाषा (नवायो) अनि उनीहरूको द्वितीय भाषा (अंग्रेजी) दुवै भाषामा पढाइयो, ती नानीहरूले नवायोभाषी ती नानीहरूलाई पछि पारिदिए जसलाई केवल अंग्रेजी मात्र पढाइयो ।’ घानामा भएको एक अनुसन्धानमा के पाइयो भने ‘घानामा केवल ५ प्रतिशत नानीहरू माध्यमिक शिक्षा अनि जायरमा केवल ३० प्रतिशत नानीहरू चौथो कक्षा मुस्किलले पार गर्दछन् । अनुसन्धानकर्ता यसको कारण शिक्षाको माध्यमको भाषामा दक्षता आर्जन गर्न नसक्नु बताउँछन्’ (उही) ।
आधुनिक विज्ञान र प्रविधिमा दक्ष हुन आफ्नो भाषा र संस्कृतिलाई निमिट्यान्न पार्नुपर्दैन भन्ने कुरालाई जापान, कोरीया, चीन, सिंगापुर आदिले देखाइसकेका छन् । जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल, नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड आदि जस्ता यूरोपका धेरै विकसित देशको प्रमुख भाषा अंग्रेजी होइन । अहिले, संसारका सबैभन्दा ‘नविनतम खोज’ गर्ने देशहरुको सूचिको माथिल्ला स्थानमा कोरीया, स्विडेन, जर्मनी, स्वीजरल्याण्ड, जापान, इजरायल आदि छन् । यी देशहरुको शिक्षा प्रणालीको माध्यम पनि अंग्रेजी होइन आफ्नै भाषा हो । अमेरिका लगायतका विकसित देशमा विद्यार्थीहरुलाई बहुभाषामा दक्ष हुन प्रोत्साहित गरिन्छ । हामी भने अंग्रेजीलाई नै साध्य मानेर दौडिरहेका छौं र यस क्रममा आफ्नै भाषाहरुलाई बिर्सन खोज्दैछौं । देशको विज्ञान प्रविधिको क्षमता अंग्रेजीमा पढाएर मात्र बढ्ने होइन, यसका लागि राज्यको लगानी, दिर्घकालीन प्रतिबद्धता र अनुसन्धानको संस्कृति चाहिन्छ ।
रिकार्डो र नोलास्कोको भनाइ र माथिका तथ्यांकलाई मान्ने हो भने ‘विद्यार्थीहरू आफ्नो मातृभाषामा सजिलै कुरा गर्न सक्छन, किनभने उनीहरूलाई गल्ती गर्ने डर रहँदैन । मातृभाषा आधारित शिक्षामा विद्यार्थीहरू सिक्ने प्रक्रियामा बडो उत्सुकताले भाग लिन्छन् । किनभने जे उनीहरूलाई बताइन्छ अनि जे सोधिएको हुन्छ त्यसलाई तिनीहरू बुझिरहेका हुन्छन् । कल्पनाहरूको सृजना अनि यथार्थको विवरणका लागि, आफ्नो विचार प्रकट गर्नका लागि अनि जुन कल्पना उनीहरूको दिमागको हिस्सा हो त्यसमा नयाँ कल्पना समावेश गर्नका लागि उनीहरू मातृभाषाको तुरन्त प्रयोग गर्न सक्छन् ।’ उल्लेखित तथ्यहरुबाट हामीले के देख्यौं भने विश्वभरिका खोज तथा विशेषज्ञहरूले शिक्षाको सफलता केवल मातृभाषाबाटै सहज रुपमा सम्भव छ भन्ने पक्का प्रमाण पेस गरेका छन् । तर नेपालमा शिक्षा र भाषाबारे आँखामा पट्टी बाँधेर कानमा अंग्रेजी रूईको ठूल्ठूलो डल्ला हालेर ‘अंग्रेजी अंग्रेजी’ कराइरहेका छन् । यसरी कराउँदा कराउँदै देशको भाषा, शिक्षा र संस्कृतिलाई बर्बादीको पटरीमा ल्याएर उभ्याइदिएका छन् । बहुभाषिक , बहुसाँस्कृतिक मुलुकमा अंग्रेजी भाषालाई एकोहोरो रूपमा थोपर्नु लाभदायक छैन । नेपालको संविधान (२०७२) ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ । नेपालमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने मात्र नभई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक पनि प्रदान गरिएको छ । यसर्थ एउटा मात्रै भाषालाई माध्यम बनाउनु संबैधानिक रूपमा पनि उचित देखिदैन ।
अर्र्काेितर सामुदायिक विद्यालयमा अध्यापन गराउदै आइरहेका कतिपय शिक्षकलाई अंग्रेजी माध्यम निल्नु न ओकल्नु जस्तै बनेको छ । पढाउ त शिक्षकसँग भाषाको तालिम नै छैन नपढाउ त अनिवार्य बनाइएको छ । जसरी दाइने गोरु देब्रे नार्दा मेलो लाग्न कठिन हुन्छ, अहिले शिक्षकलाई त्यस्तै भएको छ । अंग्रेजी माध्यमलाई अनिवार्य बनाउनु भनेको नराम्रो विषय नहोला तर शिक्षकलाई पनि तालिमको आवश्यकता पर्छ भन्ने भुल्नु हुँदैन । तर यहाँ त तालिम नै नदिइ रातारात अंग्रेजी माध्यम ल्याइएको छ । जसले गर्दा न त हाँसको ताल न त बकुल्लाको चाल भएको छ । अंग्रेजी माध्यम पढ्न र पढाउन बाध्यता बनाइयो । न त अंग्रेजी राम्रो पढ्ने भए विद्यार्थीले न त नेपाली नै । अझै कतिपय विद्यालयमा त नेपाली बोल्न नै निषेध गरिएको छ । नेपालीमा बोलेमा कारबाही हुने समेत गरेको छ । विद्यालयको प्रांगणमा उल्लेख गरिएको हुन्छ ‘ईंग्लिश स्पिकिङ जोन’ । सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षण प्रोत्साहन गर्दा विद्यालयको ‘स्तर’ वढेको जस्तो देखिए पनि विद्यालय शिक्षाको गूणस्तर जहाँको तहा नै देखिन्छ । अंग्रेजी माध्यम नाम मात्राको शिक्षण बनेकोछ । समिक्षा, उचित ब्यबस्थापन, राजनितिक चलखेल, कार्यकुशलता र समन्वयको अभावमा नाजुक अवस्था छ ।
अभिभावकले भन्ने गरेका छन कि अंग्रेजी माध्यम पढाई हुँदा खुसी लाग्छ तर अंग्रेजी भाषाले गर्दा मातृभाषा नै निषेध गरियो अरु भाषा प्रयोग हुन नपाउदा मौलिक भाषा नै हराउने डर हुन्छ । यसै सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइलाई उद्दृत गर्न उचित हुन्छ । उनको भनाइमा नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको छ । सरकारी विद्यालयमा अंग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् कुरा हो । अर्को एकजना नेपाली शिक्षासेवी जीतबहादुर शाहको भनाइलाई मान्ने हो भने आयातित वस्तुले ‘अर्गानिक’ बस्तुलाई विस्थापित गरे झै आयातित भाषाले मौलिक भाषालाई विस्थापित गर्नु भनेको हामीले कसैको औपनिवेसिकता र दासता स्वीकार गर्नु हो र जन्मदिने आमालाई विर्सनु हो । भाषा सँगसँगै हाम्रो संस्कृतिमा पनि परिवर्तन आइरहेको हुन्छ र यसले हाम्रो जिवनलाई प्रभाव पार्छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बलराम अधिकारी पनि अंग्रेजी माध्यमको कारणले विद्यार्थीको सिकाइ अपेक्षित रुपमा नभएको स्विकार्नु हुन्छ । यसै सन्दर्भमा डा. वसन्त गौतम थप्नु हुन्छ कि हिजोआज हाम्रा नानिबाबुले नेपांग्रेजी बोल्दा पनि हामी गर्व गरिरहेका छौँ । उहाँको विचारमा अंग्रेजी ज्ञान प्राप्त गर्ने साधन मात्रै हो, साध्य होइन ।
अहिले नेपालका सामुदायिक विद्यालयमा प्राथमिक तह देखि अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने लहर चलेको छ । सामुदायिक विद्यालयमा माध्यमको कारणले सिकाइको गुणस्तर कमजोर भएको होइन । कक्षा एक देखि पाँच सम्म त बढी बोलिने भाषा वा मातृभाषामा शिक्षण गर्दा नै सिकाइको स्थानान्तरण बढी हुन्छ । सारा विश्वमा घरीघरी के प्रमाणित भइसकेको छ भने शिक्षामा जति सफलता मातृभाषा माध्यमबाट प्राप्त हुन्छ‚ त्यति सफलता विदेशी भाषाको माध्यमबाट हुँदैन । शिक्षाको सफलता केवल मातृभाषा माध्यमबाटै सम्भव छ । कलिला बालबालिकालाई अंग्रेजी माध्यमले पढाउनु सारै अनुचित कार्य हो । सानैमा अंग्रेजी पढाउनु नै गलत कार्य हो । १५ वर्षसम्म विदेशी भाषा सिक्ने सिकाउने पाठ्यक्रम बनाएर सबै जनतामाथि लाद्ने काम कुनै पनि स्वतन्त्र राष्ट्रका लागि सुहाउने कार्य हैन ।
मातृभाषा आधारित शिक्षा शिक्षकहरूको सशक्तीकरणका लागि पनि उत्तिकै फलप्रद छ । जब शिक्षक स्थानीय भाषामा द्वितीय भाषाभन्दा धेरै पारंगत हुन्छन्, यस्तो स्थितिमा विद्यार्थी आफूलाई असल रूपमा प्रकट गर्न सक्छन् अनि शिक्षक सहजै के जान्न सक्छन् भने विद्यार्थीले के के सिकिसके र के सिकाउन बाँकी छ अनि कहाँ धेरै सहायताको आवश्यकता छ । मातृभाषाले जनसमूहको सामूहिक ज्ञानलाई विद्यालय प्रणालीसँग जोड्नका लागि पनि आधार तयार गर्दछ । स्थानीय रचनाकारहरू, सांस्कृतिक समूह अनि अन्य प्रासंगिक एकाइसँग तादाम्य मिलाएर गुणस्तरीय तथा अर्थपूर्ण शिक्षण सामग्री बनाउन पनि मातृभाषा माध्यमद्वारा सम्भव हुन्छ । विद्यालयको भाषा अनि समूहको भाषा एउटै भएपछि अभिभावक पनि विद्यार्थीहरूको शिक्षामा सक्रिय रूपले भाग लिन सक्छन् । यसप्रकार मातृभाषा माध्यमले अभिभावकलाई पनि सशक्तीकरण गराउँदछ जुन द्वितीय माध्यमले गर्न सक्दैन ।
यसर्थ शिक्षणको माध्यम एकोहोरो अंग्रेजीमा हुन्छ भनेर रटान गर्नुभन्दा सम्भव भएसम्म मातृभाषा मै दिनुपर्छ । यसको मतलब अंग्रेजी नै पढाउनु हुँदैन भन्ने चाहिँ होइन । अंग्रेजी पनि पढाउनु पर्छ तर भाषा विषयको रूपमा मात्रै । अब विद्यालयहरूमा मन्डारिन, कोरिएन, हिन्दी र जापानीज पनि पढाउनु आवश्यक भइसकेको छ जस्तो लाग्छ (नेपाली र नेपाली बाहेकका भाषाहरु । ) भविष्यमा सिर्जनाहुने रोजगारीकालागि नेपाली भाषा मात्रै पर्याप्त नहुने संकेत (दखको कुरा तर वास्तविकता) अहिल्यै देखिइसकेका छन् । विद्यालयमा एउटा दुईवटा होइन चारवटा सम्म भाषा सिकाउन सकिन्छ, सकेसम्म धेरै भाषा सिकाउनु पनि पर्छ । तर, स्कुल तहमा आम शिक्षाको माध्यम चाहिँ मातृभाषा या स्थानीय बोलीचालीको भाषा हुनुपर्छ भन्ने हो । अझ ग्रामीण र स्थानीय सीपमा अडेको आर्थिक सामाजिक परिवेशका लागि अंग्रेजी माध्यम झनै अनुपयुक्त बनेको छ ।
हामी कहाँ त अंग्रेजी बोलाईको सिपलाई नै ज्ञान र बिद्धताको मापन मानिन्छ । यसलाई जरैदेखि उखेल्नु पर्छ । माथिल्लो कक्षामा पुगेपछि भने उनिहरुलाई कुन माध्यममा पढ्ने हो रोज्ने अवसर दिनुपर्छ । यसो गर्दा हाम्रा विद्यार्थीहरु दुइटा भाषामा नै पारंगत हुन सक्छन र आफ्नो जिविकोपार्जन गर्न सक्छन् । आगामी वजेटमा स्थानीय, प्रदेश तथा सङ्घिय सरकारले विद्यालयस्तरमा अंग्रेजी शिक्षणलाई प्रोत्साहन गर्ने नीति सार्दै गर्दा मातृभाषालाई प्रोत्साहन गर्ने नीति ल्याउन बिर्सनु हुँदैन । अंग्रेजी माध्यमलाई मात्रै हाउगुजी बनाउनु हुँदैन । यसले सामुदायिक विद्यालयको स्तरवृद्धिमा महत्वपूर्ण सहयोग पुग्नेछ । अन्त्यमा जुन दिन अंग्रेजी बोल्नु बिद्वता होइन, त्यो केवल भाषाको माध्यम मात्र हो, साध्य होइन साधन मात्रै हो भन्ने ज्ञात हुनेछ । धेरै बद्लिने छ ।
(लेखक राना मजमावि हरिवनमा अंग्रेजी विषयका शिक्षक हुन् ।)