तस्करीको नयाँ नयाँ तरिका, रात्रीबसको ‘स्पीकर बक्स’मा कपडाको थाक

684
शुक्रबार हरिपुर प्रहरीले शिवपार्वती डिलक्सको यात्रु बस्ने सीट भन्दा माथि सामानहरु राख्ने खण्डमा फिट गरिएको स्पिकर खोल्दा बक्स भित्र देखिएका कपडाहरु । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – तस्कर समूहले भारतबाट भन्सार छलेर अवैध रुपमा साडी लगायत कपडाहरु आयात गर्ने नयाँ नयाँ तरिका अपनाउने गरेका छन् ।

शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय हरिपुरको टोलीले नयाँ तरिकाले लुकाई छिपाई गरेर रात्री बसमा ल्याईएको कपडाहरु बरामद् गरेको छ । यात्रु बस्ने सिट माथि ब्यागहरु राख्ने ठाउँमा फिट गरिएको ‘स्पिकर बक्स’ भित्र लुकाईएको अवस्थामा प्रहरीले साडी सहित कपडाहरु बरामद् गरेको हो ।

सदरमुकाम मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ग. १ ख ८३७२ नम्वरको शिवपार्वती डिलक्स नामक रात्रीबसबाट ४ लाख रुपैंया बराबरको कपडा बरामद् भएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । प्रहरी निरीक्षक साहका अनुसार हरिपुर नगरपालिका–२, स्थित ईलाका प्रहरी कार्यालय अगाडि रोकेर चेकजाँच गर्दा ‘स्पिकर बक्स’ अनि सामानहरु राख्ने डिकी भित्र पनि अन्य साना डिकीहरु फिट गरेर भित्र लुकाईएको अवस्थामा कपडा बरामद् भएको हो ।

बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइने प्रहरी निरीक्षक साहले जानकारी दिए । ‘स्पिकर बक्स’ अनि डिकी भित्र पनि अन्य साना डिकीहरुमा लुकाईएको छ भन्ने विशेष सुराकीका आधारमा हरिपुर प्रहरीले चेकजाँच गर्दा उक्त कपडाहरु बरामद् गरेको हो ।

सर्लाही प्रहरीले दुई दिनअघि मात्रै बिहिवार साँझ सदरमुकाम मलङ्गवा नगरपालिका–८, झिलमिलिया मन्दिर अगाडिबाट एक लाख १३ हजार सात सय रुपियाँ बराबरको अवैध कपडा बरामद गरेको थियो । जिल्लामा तस्करले खुला सीमा नाका हुँदै प्रहरीको आँखा छलेर कपडा लगायत अन्य विभिन्न किसिमका अवैध सामान भित्र्याउने गरेका छन् ।