सरकारले पर्यटनमा वेवास्ता गरेको मन्त्रीको आरोप

265
महोत्सव उद्घाटन समारोहमा उपस्थित अतिथिहरु ( तस्बिर : उज्यालो अभियान)

मूर्तिया – सर्लाही जिल्लाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल मुक्तेश्वर बाबा मन्दिरको प्रचार प्रसार गर्ने उदेश्यले ‘ऐतिहासिक धरोहर मुक्तेश्वर धाम जाऔं, भ्रमण वर्ष २०२० सफल बनाऔं’ भन्ने मूल नाराका साथ सोमवारबाट बरहथवा नगरपालिका–९, मूर्तियामा तेस्रो ऐतिहासिक मुक्तेश्वर महोत्सव सुरु भएको छ ।

विगत तीन वर्षदेखि निरन्तर लाग्दै आएको महोत्सवको यस वर्ष सोमवार दिउँसो प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले उद्घाटन गरेका हुन् । मन्त्री यादवले महोत्सवको उद्घाटन गर्दै चाँडै नै प्रदेश भित्रका पर्यटकीय स्थलहरुको तथ्यांक संकलन गरी प्रवद्र्धन गर्ने योजना बनाइएको जानकारी गराए । उनले मुक्तेश्वर बाबा मन्दिर पनि प्रदेश सरकारको प्राथमिकता पर्ने बताए ।

मन्त्री यादवले निकै महत्व बोकेका पर्यटकीय स्थलहरुको हालसम्म संघीय सरकारबाट संरक्षणको काम नभएको आरोप लगाउँदै अब प्रदेश सरकारकै माध्यमबाट संरक्षण तथा सम्वद्र्धनका काम हुने बताए । उनले प्रदेश २ मा प्रशस्त पर्यटक भित्र्याउने थुपै्र पर्यटकीय स्थलहरु रहेका र अब चाँडै स्तरोन्नति गरेर व्यवस्थित बनाइने प्रतिबद्धता समेत जनाएका छन् ।

अर्को प्रसंगमा मन्त्री यादवले संघीय सरकारले पर्याप्त कर्मचारी नपठाउँदा प्रदेश सरकारलाई काम गर्नै गाह्रो परिरहेको गुनासो गरे । तत्काल प्रदेश लोकसेवा ऐन बनाएर कार्यान्वयनमा ल्याई कर्मचारी अभावको समस्या समाधान गरिने मन्त्री यादवको भनाई छ । उनले आफू मन्त्री भएको दुई वर्षमै ६ सचिव फेरिँदा सोच अनुसार काम गर्न नसकेको दुःखेसो पोखे ।

बरहथवा नगरपालिका–९, का वडाध्यक्ष एवं महोत्सव आयोजक समितिका अध्यक्ष तुलसी लुइँटेलको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा नारायणहिटी संग्राहलयका महानिर्देशक भेषराज दाहालले मूर्तियास्थित ऐतिहासिक मुक्तेश्वर बाबा मन्दिरको संरक्षणमा यस वर्ष संघीय सरकारबाट पाँच करोड रुपियाँ बजेट विनियोजन भएको समारोहलाई सम्वोधन गर्दै जानकारी गराए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सञ्जय यादव, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, बरहथवा नगरपालिकाकी उपप्रमुख सीतादेवी माझी लगायतले भिजिट नेपाल २०२० सहित महोत्सव सफलताको शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । महोत्सव उद्घाटनका अवसरमा सोमवार मध्यान्ह मूर्तियाको रवी चोकदेखि महोत्सव स्थलसम्म विभिन्न समुदायको झेषभुषा र पहिचान झल्किने झाँकी प्रदर्शन गरिएको थियो ।

सोमवार नैै महोत्सव उद्घाटन समारोहमा स्थानीय गायकद्वय कर्णराज गिरी र मन्जुर आलमले गायन प्रस्तुत गरेका थिए । मूर्तियास्थित वडा कार्यालय अगाडिको चौरमा आयोजित महोत्सवमा कृषि प्रदर्शनी, खेल तमासा र विभिन्न कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । महोत्सव माघ १८ गतेसम्म चल्ने छ ।

महोत्सवको गत वर्ष संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले उद्घाटन गरेका थिए । यस वर्ष सर्लाही नै निवासी श्रम, रोजगार तथा सुरक्षामन्त्री रामेश्वर रायले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएपनि तर उनी अन्तिम समयमा आएनन् ।