हरिवनको निःशुल्क क्यान्सर शिविरमा घुईंचो

333
शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका महिलाहरु ।

सञ्जु कर्ण/हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, सुखेपोखरीस्थित चतुर्भूजेश्वर महादेव मन्दिरमा सोमवार आयोजना गरिएको एक दिने निःशुल्क क्यान्सर रोग सम्वन्धि शिविरमा सर्वसाधारणको घुईंचो लागेको छ ।

शिविरमा ३५१ जनाले परीक्षण गराएको आयोजक हरिवन नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराका मध्ये २७ जना क्यान्सर रोग प्रभावित फेला परेका आयोजक हरिवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिए ।

२७ जनामध्ये पनि १७ जना महिलाको पाठेघरमा, ४ जनाको स्तनमा, थप ४ जनाको घाँटी, मुख तथा अनुहारमा क्यान्सरको संक्रमण देखा परेको छ । यस्तै दुई जनामा पूर्णरुपमा क्यान्सर लागेर उपचार नै सम्भव नरहेको अवस्था फेला परेको चिकित्सकले बताएका छन् । जनकपुरस्थित विनयतारा क्यान्सर सेन्टरसँगको प्राविधिक सहयोगमा निःशुल्क औषधोपचार गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

शिविरमा सासापुर, हरिवन र घुर्कौली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए । वडाध्यक्ष पोखरेलकै अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्लीप्रसाद उपे्रतीको प्रमुख आतिथ्यता तथा हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा हरिवन नगरपालिकाका अन्य वडाका अध्यक्षहरु, विभिन्न राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि लगायतको समेत सहभागिता रहेको थियो ।