सर्लाहीको परवानीपुर स्थित एनसेल टावरमा विष्फोट

2446

परवानीपुर – सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित परवानीपुरमा रहेको एनसेल मोबाईलको टावरमा विष्फोट गराईएको छ ।

लालबन्दी नगरपालिका–१६ स्थित टावरमा गएराती १ बजेतिर विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘म पनि अहिले भर्खरै घटनास्थल पुगेर मलंगवा आईपुगेँ’, प्रउ पोखरेलले उज्यालो अभियानसँग सोमबार बिहानै टेलिफोनमा भने, ‘धानखेतको बीचमा रहेको टावरमा विष्फोट गराईएको रहेछ, विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको छ ।’

क्षतिको अवस्था हेर्दा सामान्य मर्मत गरेपछि केही समयमा नै टावर सञ्चालनमा आउने प्रहरी उपरीक्षक पोखरेलले दाबी गरे । विष्फोटबाट टावरमा क्षति पुगेपछि त्यस क्षेत्रका एनसेल सीम मात्र बोक्ने अधिकांश उपभोक्ता संचार सेवाबाट सम्पर्क विच्छेद भएका छन् । विप्लव समूहले विष्फोट गराएको हुन सक्ने आशंका सहित सुरक्षानिकायले अनुसन्धान अगाडी बढाएको छ ।

राती ठूलो आवाज सहित विष्फोट भएपछि गाउँलेहरुले सुरक्षानिकायमा खबर गरेको बताईएको छ । राती नै प्रहरी उपरीक्षक पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक दामोदर ढोडारी लगायत सुरक्षा अधिकृतहरु राती नै घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।