लालबन्दीमा २४४ छोरीको शिक्षा बीमा गरियो

366


सर्लाहीको लालबन्दी नगरपालिकामा दुई दिनमा २४४ जना छोरीहरुको शिक्षा बीमा गरिएको छ ।


प्रदेश २ सरकारले निकै महत्व दिए अघि बढाएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत आयोजित निःशुल्क छोरी शिक्षा बीमा शिविरमा सो संख्यामा छोरीहरुको शिक्षा बीमा गरिएको हो । साबिक लालबन्दी, पत्थरकोट र जब्दीका लागि लालबन्दी नगरपालिकाको कार्यालय परिसर, परवानीपुर र रानीगञ्जका लागि रानीगञ्ज वडा कार्यालय र नेत्रगञ्जका लागि नेत्रगञ्ज वडा कार्यालयमा शनिवार र आइतवार शिविर आयोजना गरी छोरीहरुको शिक्षा बीमा गरिएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले जानकारी दिए ।


नगरपालिकाको अति विकट क्षेत्रमा पर्ने साबिकको नाराणखोला अर्थात हालको वडा नम्वर १४ मा भने यही माघ १८ गते त्यहीँ गएर छोरीहरुको शिक्षा बीमा गर्न शिविर आयोजना गरिने भएको छ । विकट गाउँका स्थानीय वासिन्दाको सहजताका लागि त्यहीँ गएर खाता खोल्ने व्यवस्था मिलाउन लागिएको हो । शिविरमा नगरपालिका आफैले अभिभावक र छोरीहरुको छ÷छ प्रति फोटो निःशुल्क रुपमा खिचेर उपलब्ध गराइरहेको छ भने खाता सञ्चालन हुने प्रभु बैंकका प्रतिनिधिलाई सँगै राखेर खाता खोल्ने गरिएको नगरप्रमुख खड्काले बताए ।


सर्लाहीमा २० पालिकामध्ये माघ २ गते ईश्वरपुर नगरपालिकाबाट छोरी शिक्षा बीमा कार्यक्रमको सुरुवात भएको थियो । अहिले जिल्लाका सबै स्थानीय तहले धमाधम शिविर सञ्चालन गरी २०७५ साल माघ १ गतेपछि जन्मिएका छोरीहरुको शिक्षा बीमा गरिरहेका छन् ।


बालिकाहरुलाई १ लाख २५ हजार रुपैयाँको विमा गर्ने गरी प्रदेश २ सरकारले यो कार्यक्रम प्रदेशभर नै सञ्चालन गरिरहेको हो । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग यसअघि नै सम्झौता गरिसकेको छ । प्रदेश सरकारले नवजात बालिकाको नाममा एकमुष्ट रकम जम्मा गरेपछि २० वर्ष पछि बैंकले बालिकालाई १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रममा उल्लेख छ ।