पूर्व सांसद् साहले गराए हरिवनमा होटल व्यवस्थापन तालिम

641
तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै पूर्व सांसद नरेन्द्र साह (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व सांसद् नरेन्द्र साहको प्रबन्ध व्यवस्थापनमा सर्लाहीको हरिवनमा साना होटल तथा लज व्यवस्थापन सम्वन्धी ८ दिने तालिम सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन नगरपालिकाको आयोजना तथा पूर्व सांसद नरेन्द्र साहको प्रवन्ध व्यवस्थापनमा आयोजित तालिम शनिबार सम्पन्न भएको हो । समापन समारोहमा हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईको अध्यक्षता एवं पूर्व सांसद साहकै प्रमुख आतिथ्यता रहेको थियो ।

पूर्व सांसद् साहले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै होटल तथा लजहरु व्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिएको बताए । तालिमका सहभागिलाई यस क्षेत्रका होटल एवं लजमा आउने आन्तरिक एवं बाह्य पर्यटकलाई गर्ने व्यवहार, होटलको सरसफाई, विभिन्न परिकारका खानाहरु बनाउने एवं गर्नुपर्ने सरसफाई लगायत बारेमा सिकाईएको आयोजकले जनाएको छ । कार्यक्रमका वक्ताहरुले तालिमका सहभागीहरुलाई सिकेको सीपको सदुपयोग गर्दै स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।

तालिममा सहभागी ८० जना युवालाई प्रमाण पत्र वितरण गर्दै तालिमको समापन गरिएको छ । कार्यक्रममा नेपाल सरकार पर्यटन मन्त्रालय अन्तर्गत नेपाल होटल तथा पर्यटन परिषद् रविभवन, काठमाडौंले प्राविधिक सहयोग गरेको थियो । समापन समारोहमा नेपाल होटल तथा पर्यटन परिषद्का कार्यकारी निर्देशक दुर्गादत्त ढकाल, प्रशिक्षकत्रय क्रमशः सत्यनारायण साह, सिवेन्द्र मल्लिक र श्रीराम तिमल्सिना, नेकपाका नेता राजकुमार यादव, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका वरिष्ठ उपाध्यक्ष विनोद मैनाली, हरिवन ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, हरिवन ६ का वडाध्यक्ष प्रल्लाद बुढाथोकी, नेकपाका नेताहरु विदुर प्याकुरेल, चूडामणि वाग्ले, केदार मैनाली लगायत विभिन्न राजनैतिक दलका नेता एवं समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

२०७४ को प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेद्वारका प्रत्यासी पूर्व सांसद साहले पराजित भएपछि पनि क्षेत्र भित्र विभिन्न भौतिक, सीपमूलक तथा रचनात्मक सहयोग गर्दै आएका छन् ।