अन्नपूर्णको चिनी रोक्न प्रदेश सांसद् र गाउँपालिका अध्यक्ष सहितको धर्ना

258
पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

धनकौल – सर्लाहीको पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले गतवर्ष उत्पादन गरेको चिनी उद्योगको गोदामबाट लैजान थालेपछि स्थानीय किसानले अवरोध श्रृजना गरेका छन् ।

शनिबार बिहानै उद्योग व्यवस्थापनले गोदाममा रहेको चिनी लोड गर्न ट्रक ल्याएपछि स्थानीय किसानहरु जम्मा भएर चिनी निकासीमा रोक लगाएका हुन् । प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह समेत उद्योगको मूलगेटमा धर्ना बसेको स्थानीय मुकेश सिंहले जानकारी दिए । ‘अन्नपूर्णले किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी दिएको छैन’, प्रदेश सांसद् सिंहले उज्यालो अभियानसँग टेलिफोनमा भने, ‘किसानको भूक्तानी नसकेसम्म चिनी उद्योग चल्न पनि दिदैनौं र गोदाममा भएको चिनी पनि लान दिदैनौं ।’ प्रदेश सांसद सिंहको नेतृत्वमा सयौं किसानहरु शनिबार बिहानैदेखि चिनी उद्योगको मुलगेटमा टेण्ट टाँगेर धर्ना दिईरहेका छन् ।

आफूहरुसँग कुनैपनि सल्लाह वा समन्वय नै नगरी दर्जनौं सुरक्षाकर्मी सहित बिहान ५ बजे नै आधा दर्जन ट्रक चिनी लोड गर्न उद्योगमा प्रवेश गरेको सांसद् सिंहले बताए । ‘हाँमी त सुतिरहेका थियौं, दर्जनौं सुरक्षाकर्मी राखेर उद्योगबाट चिनी निकासीका लागि ट्रक ल्याईएको रहेछ’, सांसद् सिंहले भने, ‘थाहा पाउने बितिकै हाँमी सबै किसानहरु मूलगेटमा धर्ना दिईरहेका छौं ।’

सांसद् सिंहका अनुसार उद्योगले किसानलाई ४० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । केही दिनअघि मात्र अन्नपूर्णले ३ करोड ९० लाख भुक्तानी गरेको भन्ने कुरामा समेत सत्यता नरहेको सिंहको दाबी छ । ‘अन्नपूर्णले ३ करोड ९० लाख भुक्तानी गरेको भन्ने समाचारमा सुनिएको छ’, उनले भने, ‘तर यहाँका कुनैपनि किसानले अहिलेसम्म अलिकति पनि भुक्तानी पाएका छैनन् ।’

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने उद्योग मन्त्रालय र गृह मन्त्रालयबाट अन्नपूर्णको चिनी निकासीका लागि आवश्यक सहजीकरण एवं सुरक्षा व्यवस्था मिलाईदिनु भन्ने पत्र आएकाले सोही अनुसार सहयोग गरिएको बताए । ‘अन्नपूर्ण चिनी उद्योग तथा उक्त उद्योग सञ्चालकको सम्पूर्ण बैंक खाता रोक्का भईसकेकाले कृषकको भुक्तानी गर्नका लागि उद्योगमा भएको चिनी बिक्री गर्ने र सो उद्योग सञ्चालकलाई विद्युत प्राधिकरणबाट आउने रकम समेत किसानलाई भुक्तानी गर्ने माथि नै सहमति भएको छ’, प्रजिअ जिसीले भने, ‘त्यसैले उद्योगमा झण्डै ७ करोड जतिको चिनी रहेकाले सो बिक्री गरेर किसानलाई भुक्तानी गराउने व्यवस्था मिलाउने उद्योग मन्त्रालय र अन्नपूर्णका सञ्चालकबीच सहमति भएकाले चिनी निकासीका लागि तयारी भएको हो ।’

किसानकै बाँकी रकम भुक्तानीका लागि उद्योगमा बाँकी चिनी बिक्रीको प्रकृया सूरु गरिएको प्रजिअ जिसीको भनाई छ । ‘किसानहरु वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनिरहनु भएको छ’, प्रजिअ जिसीले भने, ‘त्यसैले उद्योगमा भएको चिनी बिक्री गरेर भएपनि किसानको भुक्तानी गराउने प्रकृया सूरु गरिएको हो ।’