नारायणखोलामा गाँजा फडानी अभियान जारी, सशस्त्र प्रहरीद्धारा दुई दिनमा पाँच बिघाको गाँजा नष्ट

920
नारायणखोलामा गाँजाका बोटहरु नष्ट गर्दै सुरक्षाकर्मी । (फाईल तस्बिर : उज्यालो अभियान)


सर्लाहीको कर्णाली भनेर चिनिने उत्तरी विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा लागूऔषध गाँजा फडानी अभियान जारी रहेको छ ।

त्यस क्षेत्रमा गाँजाको हरियो बोट फडानी गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा अहिले ३० जनाको विशेष टोली खटिएको छ । दुई दिनदेखि नारायणखोलास्थित मोटरदोभानलाई सेल्टर बनाएर बसिरहेको सो टोलीले मंगलवार साँझसम्म पाँच बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिसकेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज श्रेष्ठले जानकारी दिए ।

डीएसपीको कमाण्डमा त्यहीँ रहेको टोली मोटरदोभान आसपासमा लगाइएको गाँजा नष्ट गरेर मात्रै जिल्ला फर्किने एसपी श्रेष्ठले बताउनु भएको छ । उत्तरी चुरेभेगस्थित नारायणखोलामा व्यापाक मात्रामा व्यवसायिक किसिमले गाँजा खेती भइरहेको सूचना पाएपछि प्रहरीले त्यस क्षेत्रलाई निगरानीमा राखी गाँजा फडानी अभियान चलाईरहेको छ ।

केही दिनअघि सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर जिसी समेत गाँजा फडानीका लागि नारायणखोला पुगेका थिए । त्यस क्षेत्रमा पाखो बारीमा गोडमेल गरी व्यवसायिक किसिमले व्यापाक मात्रामा गाँजा खेती भइरहेको पाइएको प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले बताए ।

भारतीय नागरिकको प्रत्यक्ष लगानीमा नारायणखोलामा व्यापाक मात्रामा लागूऔषध गाँजाको खेती भइरहेको पाइएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । गाँजाबाट राम्रो कमाई हुने भएपछि अन्य बाली लगाउने पाखो बारीमा पछिल्लो समय गाँजा खेती गर्न थालेको पाइएको छ ।