डा. रेग्मीद्वारा वृद्धवृद्धाको मुटु सहित स्वास्थ्य परीक्षण

545
स्वास्थ्य परीक्षण गर्दै डा. रेग्मी । (तस्बिर : उज्यालो अभियान)

जुटपानी –नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय महासचिव एवं वीर अस्पताल मुटु रोग विभागका प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा.प्रकाशराज रेग्मीले वृद्धवृद्धाको मुटु सहित विभिन्न स्वास्थ्य परिक्षण गरेका छन् ।

आईतबार बिहान लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रममा आएर डा. रेग्मीले त्यहाँ आश्रीत वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेका हुन् । यही माघ ३, ४ र ५ गते प्रतिष्ठानको केन्द्रीय साधारण सभा बर्दीबासमा भएको र सोमबार अधिकांश सहभागि जानकी मन्दिर लगायत दर्शन गर्न जनकपुर गएका र डा. रेग्मीले भने सो समयलाई वृद्धाश्रममा आश्रीत वृद्धवृद्धाको स्वास्थ्य परीक्षणको रुपमा सदुपयोग गरेको वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । ‘अन्य साथिहरु जानकी मन्दिर सहित अन्य मठमन्दिर दर्शन गर्न जनकपुर जानुभयो’, कोइरालाले भनिन्, ‘तर डा. साहेबले भने मेरो मन्दिर यही हो भन्दै वृद्धाश्रमका वृद्धवृद्धालाई परीक्षण गर्न आउनु भयो ।’