सामान्य हिउँदे झरीमै सडक जलमग्न

258
शुक्रवार बिहानको वर्षापछि सर्लाहीको चन्द्रनगरस्थित सडकमा पोखरी झैं जमेको पानीमा पौडी खेल्दै गरेका हाँस । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर – सर्लाहीमा शुक्रवारको सामान्य वर्षामै ग्रामीण कच्ची सडक र बजार क्षेत्र जलमग्न हुँदा आवातजावत प्रभावित भएको छ ।

वर्षौदेखि जीर्ण अवस्थामा रहेको जिल्लाको बाँके–संग्रामपुर, चन्द्रनगर–मलंगवा, सलेमपुर–मदनपुर लगायतका भित्री सडक र पूर्व–पश्चिम हुलाकी सडक हिउँदे वर्षामै जलमग्न भएको हो । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका अधिकांश सडक शुक्रवारको वर्षापछि जलमग्न भएका छन् । हरिपूर्वासँग सीमा जोडिएका पर्सा, ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिका अन्तर्गतका सडक पनि वर्षापछि जलमग्न बनेको स्थानीय वासिन्दाले बताएका छन् । ठूल्ठूला खाल्डाखुल्डी रहेका सडकमा अहिले पोखरी झैँ पानी जम्दा सर्वसाधारणलाई पैदल हिँड्न र सवारी सञ्चालनमा समस्या भएको छ ।

जिल्लाको नवलपुर–मलंगवा र नयाँरोड–मधुवनी सडक भने यस वर्ष कालोपत्रे सम्पन्न भएपछि सानो पानीमै जलमग्न हुने समस्याको अन्त्य भएको छ । यस्तै पानीको उचित निकास नहुँदा जिल्लाको सदरमुकाम मलंगवासहित बयलवास, बरहथवा, हरिवन, नयाँरोड, लालबन्दी, हरिपुर लगायतका बजार पनि हिलाम्मे भएको स्थानीयले बताएका छन् ।