ठूलो परिमाणमा लागूऔषध सहित पोखराका दुईजना सर्लाहीबाट पक्राउ

3962
बरामद् लागूऔषध, नगद सहितका सामान एवं ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परका अभियुक्त आईतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)

मलंगवा – सर्लाही प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित पोखराका दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आईतबार दिउँसो मलंगवामा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुईजना सहित बरामद् लागूऔषध सार्वजनिक गरेको छ । कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घरभई हाल तनहुको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई पक्राउ लागूऔषध र नगद सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

शनिबार भारतको सोनवर्षाबाट सर्लाहीको पर्सा गाउँपालिकातर्फ आउँदै गरेको भक्स वागेन कम्पनीको बा. १२ च ३५२७ नम्बरको सेतो कार चेकजाँच गर्दा पछाडीको सीटमा पहेलो बोरा भित्र राखेको १०० मिलिलिटरको २१० बोतल फेन्सिडिल र ९०० थान नाईट्राभेट ट्याब्लेट बरामद् भएको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुको साथबाट नगद ३ लाख ६७ हजार रुपैंया, हङकङ डलर २४ तथा ५० सेन्ट, ५ थान मोबाईल समेत बरामद् भएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार तामाङले कार चलाएका थिए । उनीहरु पेशेवर रुपमा लागूऔषध कारोबारी भएको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईने प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

त्यसैगरी दुई दिनयता जिल्ला स्थित ईश्वरपुर, धनकौल, मलंगवा लगायत स्थानबाट १ लाख ३० हजार रुपैंया बराबरको सामान बरामद् गरिएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर भित्र्याईएको कपडा तथा किराना सामान एवं भारतर्फ लैंजादै गरेको सोफि नामक मदिराका बोतल बरामद् गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।