इन्दुशंकरले तीन सातामा पेल्यो सात लाख क्वीन्टल उखु

651
इन्दुशंकर चिनी उद्योग हरिवनमा किसानले क्रसिङका लागि टायरगाढामा ल्याएका उखु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको सबै भन्दा ठूलो चिनी उद्योग हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले तीन सातामा सात लाख ४८ हजार क्वीन्टल उखु क्रसिङ गरेको छ ।

अघिल्लो महिना पुस ११ गतेदेखि यस सिजनका लागि उखु क्रसिङ सुरु गरेको उद्योगले माघ २ गते बिहिवारसम्ममा सो परिमाणमा उखु क्रसिङ गरेको हो । उद्योगले यस वर्ष ३५ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले उज्यालो अभियानलाई जानकारी दिएका छन् । जिल्लाको उत्तरी भेगस्थित इन्दुशंकर चिनी उद्योगले हाल दैनिक ४५ हजार क्वीन्टलको हाराहारीमा उखु क्रसिङ गरिरहेको जनाएको छ ।

शुक्रवार पानी परेपछि उखु कम आउँदा हाल सानो मेसिन मात्रै सञ्चालन भइरहेको उखु प्रवन्धक रजकले बताए । ‘पानी परेपछि उखु कम आइरहेको छ, त्यसैले ठूलो मेसिन चलाएका छैनौँ, ठूलो मेसिन सफा पनि गर्नुपर्ने छ’, उखु प्रवन्धक रजकले भने, ‘सफा गर्ने बित्तिकै दुवै मेसिन चलाउँछौँ ।’

देशमै बढी उखु खेती हुने सर्लाही जिल्लाका तीनवटा चिनी उद्योगमध्ये हालसम्म इन्दुशंकर चिनी उद्योग हरिवन र गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदह मात्रै सञ्चालनमा छन् । किसानलाई विगत तीन÷चार वर्षदेखिको भुक्तानि नगरेको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम भने अझै सञ्चालनमा आउन सकेको छैन् । यो उद्योग यस वर्ष सञ्चालन नहुने बताइन्छ ।

उद्योग सञ्चालन नहुँदा जिल्लाको दक्षिणी भेगका किसानलाई उखु बिक्री गर्न समस्या भइरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । त्यस क्षेत्रबाट दैनिक ठूलो संख्यामा उखु किसान उखु बिक्री गर्न समस्या भएको गुनासो लिएर आफूकहाँ आइरहेका मैनालीले बताए । ‘दक्षिणी भेगका किसानलाई उखु बेच्न नपाउँदा अत्यन्तै पीडा छ, इन्दुशंकरमा चलान मिलाई दिनुप¥यो भन्दै म कहाँ दैनिक ठूलो संख्यामा त्यस क्षेत्रका किसान आउँछन् ।’ मैनालीले भने ।

लामो समयसम्म किसानको भुक्तानि नदिएर बद्नामी कमाएको अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले केही दिनअघि सरकारसँग भएको सहमति अनुसार पुरानो पैसा भुक्तानि नगर्दा उखु किसान निराश भइरहेका छन् । माघ ७ गतेसम्म गत वर्षहरुमा चिनी उद्योगमा उखु बिक्री गरेको पैसा नपाए पुनः काठमाण्डौंमा गएर आन्दोलन गर्ने दक्षिणी भेगका उखु किसानको तयारी छ ।