माघीमा युवाद्वारा ३३५ जनालाई मिष्ठान भोजन एवं न्यानो कपडा

400
विपन्न तथा असहायलाई वितरणका लागि कार्यक्रम स्थलमा राखिएका न्याना कपडाहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – माघे संक्रान्तिका अवसरमा बुधबार जिल्लाभर विविध कार्यक्रम भएका छन् । संक्रान्तिकै अवसरमा प्रायसः घरमा तरुल, फर्सी जस्ता फलाहार अनि तिलको लड्डु, मुरईको लाई, फापरको फुरौला, सेलरोटी लगायत पक्वान गरेर मिष्ठान भोजन गरियो ।

तर हरिवन स्थित युवाहरुको एक समूहले भने माघे संक्रान्तिका अवसरमा आफ्नो घर परिवारमा मात्र हैन अनाथ, असहाय, गरिब, अपांग, माग्दै हिँड्ने भिखारी लगायतलाई मिष्ठान भोजन गराउनुका साथै न्यानो कपडा समेत वितरण गरेको छ । आमर्ट नेपाल सर्लाही अन्तर्गत आनन्द मार्ग राहत उद्धार टोलीमा आवद्ध युवाहरुले माघे संक्रान्तिको अवसरमा त्यस्तो कार्यक्रम गरेका हुन् ।

अति विपन्न तथा बेसहारा, असहाय, सडकमा मागि हिड्नेहरुलाई भोजन गराई न्यानो कपडा वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि माघे संक्रान्ति पर्वका अवसरमा आमर्ट नेपाल नामक संस्थाको आनन्द मार्ग उद्धार टोलीले सामाजिक कार्य गरेको हो ।

जिल्लाका विभिन्न गाउँबाट आएका ३३५ जना असहाय तथा विपन्नलाई एक छाक मिष्ठान्न भोजन गराई कम्बल, ट्राउजर, जुत्ता, पाईन्ट, हुक, सुईटर लगायत विभिन्न न्यानो कपडा प्रदान गरिएको कार्यक्रम संयोजक बैजु साहले जानकारी दिए । कार्यक्रममा हरिवन नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, नेकपाका नेता चूडामणि वाग्ले, आमर्ट नेपालका हरिशंकर चौधरी लगायत पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो । माघे संक्रान्तिका दिन संस्थाले वर्सेनी यसैगरी खाना खुवाएर न्यानो कपडा वितरण गर्ने भएकाले भित्री ग्रामीण वस्तीबाट विपन्न तथा सुकुम्वासी र असहायहरु आउने गरेको आयोजकले जनाएको छ ।