–गायक टुहुरे सँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई अभिनन्दन्
हरिवन – जनवादी गायक जेवि टुहुरेले बुधबार सर्लाहीको हरिवनमा निरन्तरता भाग–४ अन्तर्गत एकल सांगीतिक प्रस्तुती दिएका छन् ।
पञ्चायती निरंकुशतन्त्र विरुद्ध जनवादी गीत संगीत मार्फत परिवर्तनको पक्षमा वकालत गरेका युग गायक टुहुरेको प्रस्तुतीले हरिवन नगरपालिका–५, घुर्कौली स्थित द्वन्द्वपीडित बालगृह परिसरमा उपस्थित दर्शकहरु झुमेका थिए । टुहुरेको जनवादी गीत संगीतको प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए ।

आमा दिदी बहिनी हो….., खेताला गयो मेलामा….., पानी चल्दैन रे…….आमा तिम्रो माया….. लगायत १३ वटा गीत निरन्तर गाएका ७५ वर्षीय टुहुरेको प्रस्तुतीले युवा गायकहरुलाई विर्सनलायक बनायो । टुहुरेले पञ्चायती भूमिगत कालमा राजनैतिक परिवर्तनका खातिर गाउँगाउँमा गीतसंगीतको माध्यमले चेतना छर्ने क्रममा भोगिएको दुःख कष्ट अनि आईपरेका चुनौतीहरुको सवर्णन गर्दा उपस्थित दर्शकहरु अवाक बनेका थिए ।

छुवाछुत अनि शोषण दमन विरुद्ध तथा विदेशमा बेचिएका चेलीहरुको कथाव्यथा सहित वैदेशिक रोजगारीमा खटिएका युवाहरुको दुःख लगायत समेटिएका टुहुरेको गीत संगीतलाई कार्यक्रमका प्रमुख अतिथि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, विशिष्ट अतिथि संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सहित वरिष्ठ व्यक्तित्वहरुले धैर्यतापूर्वक श्रवण गरेका थिए । झण्डै दुईघण्टा निरन्तर गीत गाएका टुहुरेको प्रस्तुतीभर आधा दर्जन प्रदेश सांसद्हरु, नेकपाका आधा दर्जन केन्द्रीय सदस्यहरु, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी एवं सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाका मेयर/उपमेयर, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सहित अन्य विभिन्न राजनैतिक दलका नेता एवं सामाजिक अगूवा, उद्योगी व्यापारीहरु धैर्यताका साथ कार्यक्रम स्थलमै बसेका थिए ।
‘ब्याकग्राउण्ड एलईडी’ सहितको भव्य म्युजिक सिस्टमको स्टेजमा टुहुरेको प्रस्तुती जोडदार देखिन्थ्यो । जेवि टुहुरे फाउण्डेशनको आयोजना रहेको सांगीतिक कार्यक्रमलाई हरिवन नगरपालिका कार्यालयले प्रवद्र्धन गरेको थियो । स्थानीय व्यवस्थापनको जिम्मा भने द्वन्द्वपीडित बालगृह सञ्चालन गरिरहेको संस्था चेतना सन्देश नेपालले लिएको थियो ।
जेवि टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेको अध्यक्षता रहेको कार्यक्रम राष्ट्रिय सभाका सांसद् खेम नेपालीले सञ्चालन गरेका थिए । आयोजक चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले प्रमुख अतिथि, विशिष्ट अतिथि सहित कार्यक्रममा उपस्थित अतिथि सहित सम्पूर्ण दर्शकलाई स्वागत गरेका थिए भने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले कार्यक्रम गर्नुको कारण बारेमा प्रस्ट्याएका थिए । तत्कालिन नेकपा एमालेबाट निर्वाचित मेयर प्रसाईंले कार्यक्रमबारेमा बताउँदै मन्तव्यको अन्त्यमा मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीका किसानको मार्मिक पीडा सुनाउदै उद्योगपतिबाट ४ वर्षदेखि भुक्तानी नपाएर छट्पटीएका किसानले नेकपाको सरकारबाटै अनुदान रकम समेत नपाउँदा निकै पीडित बनिरहेको गुनासो गरे । उनले माघ ७ गते भित्र उद्योगपति एवं सरकारबाट पाउने भुक्तानी किसानले नपाए आफ्नै सरकार विरुद्ध सडकमा उत्रन बाध्य हुने चेतावनी दिँदा कार्यक्रमस्थल तालिले गुञ्जायमान बनेको थियो ।
कार्यक्रमकै अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र गायक जेवि टुहुरेलाई चेतना सन्देश नेपाल र हरिवन नगरपालिकाले अभिनन्दन समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री यादवलाई अभिनन्दन–पत्र प्रदान गरे । त्यस्तै प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती सहित हरिवन, बरहथवा, बागमती, लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिका तथा चक्रघट्टा र पर्सा गाउँपालिकालाई चेतना सन्देश नेपालले अभार पत्र समेत प्रदान गरेको छ । कार्यक्रममा हरिवनका मेयर प्रसाईं, बागमतीका मेयर भरतकुमार थापा, लालबन्दीका मेयर मानबहादुर खड्का, ईश्वरपुरका मेयर मनोज देवकोटा, हरिपुरका मेयर जमरुद्धिन मन्सुर, बरहथवाका मेयर देवानन्द महतो, पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतले आभार–पत्र ग्रहण गरेका थिए ।
राष्ट्रिय सभाका सदस्य खेम नेपालीको सञ्चालन रहेको कार्यक्रममा अभिनन्दित भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले निश्कलंक ढंगले काम गर्ने प्रतिबद्धता जनाए । राजनैतिक जीवनको उत्तराद्र्धमा पुगिसकेकाले अब आफूले मुलुक र जनताको सेवा बाहेक अर्को कुनै कुरा नसोच्ने मन्त्री यादवको प्रतिबद्धता थियो ।