सर्लाहीमा पहिलो पटक एलईडी सहित विदेशी कलाकारको लाईभ कन्सर्ट हुँदै

765
मंगलबार बिहान एलईडी सहितको स्टेज सजावटमा जुट्दै आयोजक । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा आज (मंगलवार) दिउँसो लाईभ कन्सर्ट हुँदैछ ।

जापानको चौतारी साँझ ब्याण्डले मंगलबार दिउँसो १ बजेदेखि ‘ब्याकग्राउण्ड एलईडी’ सहित गीत संगीत प्रस्तुती दिने भएको हो । घुर्कौली निवासी बाँसुरीवादक पन्च लामा एवं तवेलावादक श्रवण लामा, जापानिज कलाकारहरुका साथै नेपालका अन्य चर्चित कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने आयोजक चेतना सन्देश नेपालले जनाएको छ । हरिवन नगरपालिकाले प्रवद्र्धन गरेको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यता रहने छ भने वन वातावरण तथा पर्यटन मन्त्री रामनरेश राय लगायतको आतिथ्यता रहने छ ।

यस्तै द्वन्द्वपीडित बाल गृह घुर्कौलीमै भोली (बुधबार) दिउँसो १ बजेदेखि जनवादी गीत संगीतका ऐतिहासिक धरोहर एवं परिवर्तनका संवाहक ७५ वर्षीय युगीन गायक जेबि टुहुरेले एकल सांगीतिक प्रस्तुति दिँदैछन् । जेबी टुहुरे फाउण्डेशनको आयोजना एवं हरिवन नगरपालिकाको प्रवद्धन रहेको कार्यक्रममा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहने चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए ।