जन आन्दोलनमा प्रहरी यातनाबाट मारिएका नारायण उप्रेतीलाई शहीद घोषणा गर्न माग

सर्लाहीको हरिवनमा मंगलवार नारायण उप्रेतीको २७ औँ स्मृति दिवस मनाइएको छ ।

जन–आन्दोलनमा प्रहरी यातनाबाट मारिएका उप्रेतीको सम्झनामा हरिवन नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरी उनको स्मृति दिवस मनाइएको हो । कार्यक्रममा नगरपालिका परिसरभित्र निर्मित उप्रेतीको शालिकमा माल्यार्पण सहित अन्य गतिविधि आयोजना गरिएका हुन् ।

नारायण उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षता एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नारायण उप्रेती जस्तो होनाहार प्रतिभालाई जन्म दिई पञ्चायती व्यवस्थामा नेताहरुलाई आश्रय दिएर योगदान पुर्याएको भन्दै दिवगंत उप्रेतीकी आमा ९२ वर्षीया टीकालक्ष्मी उप्रेतीलाई सम्मान गरिएको छ ।

यस्तै हरिवन नगरपालिका भित्रका सबै विद्यालयबाट एसईई र प्ल टूमा उत्कृष्ट अंक ल्याउने एक–एक जना विद्यार्थीलाई सम्मान गरिएको छ । उप्रेतीको स्मृतिमा उहाँको योगदान र शहीदको महत्व विषयमा आयोजित निवन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने तथा सहभागी सबै सहकागी विद्यार्थीलाई सम्मान गरिएको छ ।

त्यसैगरी उप्रेतीको योगदानलाई चिरस्थायी राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल र ११ वटै वडाका वडाध्यक्षलाई पनि सम्मान गरिएको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वाग्लेले जानकारी दिए ।

२०४६ सालको जनआन्दोलनका योद्धा उप्रेती को आन्दोलनकै दौरानमा प्रहरी यातनाका कारण २०४९ साल पुस २९ गते आजैका दिन निधन भएको थियो । कार्यक्रमका वक्ताहरुले साबिक हरिवन गाविसको पहिलो निर्वाचित गाविस अध्यक्ष उप्रेतीले पु¥याएको योगदानलाई सम्झदै शहीद घोषणा गर्नुपर्ने माग गरे । नेकपाका नेता विदुर प्याकुरेलको सञ्चालन तथा केशव ढकालको स्वागतमा आयोजित कार्यक्रममा केन्द्रदेखि प्रदेश र स्थानीय स्तरका विभिन्न पार्टीका नेता, सांसद, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।