पशु पोषण सम्वन्धी एक दिने गोष्ठी सम्पन्न

लालबन्दी – सर्लाहीको लालबन्दीका अगुवा पशुपालक किसानलाई बिहिवार घाँसमा आधारित पशुपालन बारेमा जानकारी गराईएको छ ।

नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा नगर क्षेत्र भित्रका ३६ जना पशुपालक किसानलाई सहभागी गराई कम भन्दा कम लगानीमा घाँसमा आधारित पशुपालन गर्ने तरिका सिकाईएको हो । सहभागी किसानहरुलाई पशु विकास अधिकृत बालकृष्ण श्रेष्ठ र पशु प्राविधिक उद्धव तिमल्सिनाले प्रशिक्षण प्रदान गरेका थिए । हरियो घाँस नभएको बेला अन्य घाँसको जोहो गर्ने तरिका, जाडो समयमा चौपायलाई सुरक्षित राख्ने उपाय र चौपायका लागि आवश्यक पर्ने पोषक आहाराका सम्वन्धमा पनि किसानहरुलाई जानकारी गराइएको पशु विकास अधिकृत श्रेष्ठले जानकारी दिए । यसअघि नगरभित्रका अन्य ४० जना किसानलाई सहभागी गराई यस्तै किसिमको प्रशिक्षण प्रदान गरिएको थियो ।