खानेपानी पुगेपछि केराबारीमा खुशियाली, स्थानीयले खशी नै काटेर भोज गरे

1387
केराबारी डाँडामा पुगेको धारा खोलेर शुक्रबार बिहान खानेपानी सेवाको उद्घाटन गर्दै मेयर प्रसाईं, उपमेयर पौडेल लगायत । (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजारबाट झण्डै ५ किलोमिटर उत्तर चुरे पहाड स्थित केराबारीटोलमा खानेपानी पुगेपछि स्थानीयमा खुशियाली छाएको छ । खानेपानी पुगेको अवसरमा स्थानीयले शुक्रबार बिहान खशी नै काटेर मासु पुलाउको भोज गरेका छन् ।

गाउँलेहरुले आफू मात्र हैन खानेपानी उद्घाटन गर्न पुगेका हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु रामबहादुर क्याप्छाकी मगर, यज्ञविनोद ढुंगेल, शेष मेहबुब रेजा, वडा सदस्य सुकदेव कार्की, नेकपाका नेता चूडामणि वाग्ले, कांग्रेसका युवा नेता विप्लव कार्की, संचारकर्मीहरु लगायतलाई समेत हर्षबढाईं सहित फूलमाला तथा अबिर पहिर्याएर स्वागत गरे ।

मेयर प्रसाईंले केराबारी डाँडामा रहेको ट्यांकीमा जडित धारा खोलेर खानेपानीको उद्घाटन गरेपछि भरिएको पानीको गाग्रो काखी च्यापेर नजिकैको घर जाने स्थानीय महिलाको मुहारमा खुशियालीको सिमा थिएन । वर्षौंदेखि ४ घण्टा लगाएर पूर्वी खोलाको कुवाबाट खानेपानी ओसार्न बाध्य महिलाहरु घरछेउकै धाराबाट गाग्रो भरेर घर लैजान पाउँदा दंग देखिन्थे ।

केराबारी टोल स्थित ६५ घरधुरीका ४०० भन्दाबढी स्थानीयमा खानेपानीको सुविधा घर छेउमै आईपुगेपछि शुक्रबारबाट खुशी छाएको छ । हरिवन नगरपालिका कार्यालयको २५ लाख रुपैंया तथा ४ लाख ५० हजार रुपैंया जनश्रमदान गरेर २९ लाख ५० हजारको लागतमा केराबारीमा खानेपानी पुगेको हो । फट्टी खोला स्थित बोरिङबाट दुई ठाउँमा मोटरमार्फत ‘लिफ्टििङ’ गरेर केराबारीमा पानी पु¥याईएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर राईले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर प्रसाईंले आफू विकट ठाउँको सेवामा लागि परेको जानकारी दिए । ‘नगरपालिका सहित सबैको प्रयासमा विकट ठाउँ केराबारी टोलमा खानेपानी सुविधा ल्याउन सफल भएका छौं’, प्रसाईंले भने, ‘अब केही माथिको बनमारा टोलमा पनि खानेपानी पु¥याउन लागि पर्नेछु ।’ विकट ठाउँमा सडक तथा शिक्षाको स्तरोन्नतीका लागि आफू मरिमेटेर लाग्ने उनको प्रतिबद्धता थियो ।

उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर राईको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर पौडेल, वडा अध्यक्ष क्याप्छाकी मगर, नेता चूडामणि वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रज्वल ढुंगानाको सञ्चालन रहेको उद्घाटन समारोहमा स्थानीय शान्तिमाया राईले अतिथिहरुलाई स्वागत गरेकी थिईन् ।

तल फट्टी खोला स्थित ठूलो मोटर भएको ठाउँमा थ्रि फेजको विद्युत नभएकाले तत्काल जेनेरेटर मार्फत मोटर चलाएर पानी तान्ने तथा ‘थ्रि फेज’ लाईन आएपछि थप सहज र सुलभ हुने स्थानीयको भनाई छ । माथिको दुईवटा मोटर भने ‘टू फेज’ लाईनबाटै चल्ने उपभोक्ता समितिले जनाएको छ ।

खोलामा गाडिएको बोरिङ्बाट जम्मा हुने ६० हजार लिटर क्षमताको पक्की ट्यांकी, जहाँबाट लिफ्टिङबाट केराबारी डाँडामा राखिएको ट्यांकीमा पानी चढाईएको छ । (तस्बिर :उज्यालो अभियान)