उखु बोकेको ट्याक्टरमा अटो ठोक्कियो, चार जना घाईते

460

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, खोरिया टोलमा विहिबार साँझ भएको दुर्घटनामा चार जना घाईते भएका छन् ।

ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजारबाट बरकुर्वातर्फ जाँदै गरेको प्रदेश २–०३–००१– स ०५६५ नम्वरको अटो विपरीत दिशाबाट आइरहेको उखु लोड गरेको ज १ त १३९४ नम्वरको ट्याकरको ढालाभन्दा बाहिर निस्केको उखुको भागमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक चन्द्रनगर गाउँपालिका–३, बरकुर्वा निवासी तेजनारायण रामकी श्रीमती ४३ वर्षीया सिलतोर देवी राम, बरकुर्वाकै ३४ वर्षीय राजनारायण राम, ३८ वर्षीया नेत्रीदेवी राम र ५ वर्षीया बालिका काजलकुमारी राम घाईते भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

घाईते चारमध्ये सिलतोर देवी रामको अवस्था गम्भीर रहेको पहरीले जनाएको छ । उहाँलाई बयलवासमा सामान्य उपचार गरी जनकपुरतर्फ रेफर गरिएको छ । अन्य घाईतेको बयलवासमै उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले उखु बोकेका सवारीका कारण दुर्घटनाको जोखिम अत्यधिक रहेकाले सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।