वडाध्यक्ष पोखरेलले गरे आफ्नो जन्मदिनमा गुरुहरुको सम्मान्

386
वडाध्यक्ष पोखरेलको जन्मदिनमा आयोजित सम्मान कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले बिहिवार सामाजिक काम गरी जन्मदिन मनाएका छन् ।

५४ वर्ष पूरा भई ५५ वर्षमा प्रवेश गरेको अवसरमा वडाध्यक्ष पोखरेलले बिहिवार मध्यान्ह वडा भित्रका दृष्टिविहिन र आफ्नो राजनीति तथा शिक्षा क्षेत्रका गुरुहरुलाई सम्मान गरेका हुन् । वडाध्यक्ष पोखरेलले दृष्टिविहिन एैत वरिया देवी धामी, राजनीतिका गुरुहरु घनश्याम मास्के, जनक उपे्रती र कल्याण केसीलाई सम्मान गरे । यस्तै आफूलाई शिक्षा प्रदान गर्ने गुरु कृष्णप्रसाद भट्टराई, दिवंगत गुरु यज्ञराज कार्कीकी श्रीमती मीना कार्की र दिवंगत गुरु परशुराम दाहालकी श्रीमती शशीकला दाहाललाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

यसैगरी वडाध्यक्ष पोखरेलले हरिवन नगरपालिका–९, को टोल सुधार समितिलाई जन्म दिनकै अवसर पारी विभिन्न जातका ५५ वटा विरुवा प्रदान गरेका छन् । कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतले मन्तव्य राख्दै वडाध्यक्ष पोखरेलले जन्म दिनमा गरेको सामाजिक कार्यले समाजमा राम्रो छाप परेको बताए । पछिल्लो समय जन्मदिनमा फजुल खर्च गरी तडकभडक गर्ने प्रवृत्ति बढिरहेका बेला वडाध्यक्ष पोखरेलले गरेको काम उदाहरणीय रहेको वक्ताहरुको भनाई थियो ।