लागूऔषधसहित चोरीका आरोपी पक्राउ

205

लालबन्दी – सर्लाहीको लालबन्दीमा विभिन्न चोरीका घटनामा संलग्न आरोपी एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५, का २२ वर्षीय उमेश सिंह रहेका प्रहरीले जनाएको छ । उनलाई मंगलवार राती ८ बजेतिर लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडिबाट पक्राउ गरिएको हो । प्रहरी सहायक निरीक्षक (असई) रुद्र खड्काको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा सिंहको साथबाट लागूऔषध नाईट्रोभेट ट्याबलेट ९० पिस बरामद गरेको छ ।

यस्तै सिंहले चोरी गरेको एक थान पानी तान्ने मोटर र दुई जोर जुत्ता समेत बरामद भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए । लागूऔषधका सेवनकर्ता सिंह लालबन्दी क्षेत्रमा स–साना चोरीको घटनामा संलग्न रहेको पाईएको प्रहरीले जनाएको छ । सिंहलाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय लालबन्दी क्षेत्रमा घरमा राखिएका सरसामान चोरी हुने घटनाले स्थानीय वासिन्दा हैरान भइरहेका छन् ।