महालक्ष्मीले थाल्यो उखु क्रसिङ

517
बगदह स्थित महालक्ष्मी सुगर मिल । (तस्बिर : उज्यालो अभियान)

बगदह – सर्लाहीको दक्षिणी भेगमा पर्ने गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग वुधवार अपरान्हबाट सञ्चालनमा आएको छ ।

उद्योगले गत वर्ष खरिद गरेको उखुको पैसा क्रमैसँग भुक्तानि गर्न थालेपछि किसानले उद्योग सञ्चालन गर्न दिएका हुन् । केही दिन अघि नै उद्योग सञ्चालन गर्ने तयारी गरेपनि गत वर्षको पैसा बाँकी राखिएको भन्दै किसानले अवरोध गरेका थिए । महालक्ष्मीले एक हप्तामै किसानको ११ करोड २६ लाख रुपियाँ भुक्तानि गरेको दावी गरेको छ । बाँकी रकम पनि माघ ७ गतेभित्रै भुक्तानि गरिने उद्योगका उखु प्रवन्धक केडी प्रसादले जानकारी दिए ।

उद्योग सञ्चालनमा आएसँगै किसानले धमाधम चलान लिएर मिलसम्म उखु ल्याउन थालेका छन् । पुरानो भुक्तानि गरेर उद्योगले उखु क्रसिङ सुरु गरेपछि किसान खुशी भएका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताए । उद्योगलाई सरकारसँग केही दिनअघि भएको सहमति अनुसार माघ ७ गते भित्र गत वर्षको सम्पूर्ण भुक्तानि गर्न दबाब दिइरहेको नगरप्रमुख यादवले बताए । मुलुकमै सबै भन्दा बढी उखु खेती हुने सर्लाहीका तीनमध्ये हालसम्म इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम भने अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।

अन्नपूर्णले किसानलाई विगत तीन÷चार वर्षदेखिको भुक्तानि दिन बाँकी छ । यो उद्योग यस वर्ष सञ्चालन हुने सम्भावना कम रहेको बताइएको छ । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भुक्तानिमा आलटाल गर्ने उद्योगमा किसानले उखु बिक्री गर्न छाडेका बताए ।