श्याम परदेशी काण्ड सेलाउँदै, नयाँ मिटरब्याजीको अन्याय खुल्दै

455


पुस २३ गते । सर्लाहीका दुई मिटर ब्याजीको अन्यायविरुद्ध सर्लाहीका पीडितहरु न्याय खोज्दै काठमाण्डौं पुगेका छन् । खुङखार मिटर ब्याजी श्याम परदेशीबाट पीडित भएकाहरुले बल्ल न्याय पाउन थालेका बेला सर्लाहीकै अर्का दुई मिटरब्याजीबाट पीडितहरु सार्वजनिक हुन थालेका हुन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारबाट ऋण लिँदा कयौंको घरबार बिल्लीबाठ भएको घटना सार्वजनिक भएको हो । राय र रौनियारले चर्को ब्याजमा ऋण प्रवाह गरेको, दिएको ऋण भन्दा बढीको कागज बनाएको, ऋण चुक्ता गर्दा पनि कागज नदिएको जस्ता गुनासो गर्दै पीडितहरुको एक समूह काठमाण्डौं पुगेको छ । बागमती नगरपालिका–७, राजघाटका जवाहार साहले साहु रामबाबु रायसँग ऋण लिएर पुरै ऋण बुझाउँदा समेत आफ्नो जग्गा फिर्ता नगरेको गुनासो गर्नुभयो । पीडितहरुलाई लिएर काठमाण्डौं पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज डाचाराज वाग्लेले पीडितहरुलाई क्रमैसँग शीर्ष नेताहरु भेट गराई रहेको जानकारी दिनुभयो । यसअघि पीडितहरु काठमाण्डौं पुगेर शीर्ष नेताहरुसँग हारगुहार गरेपछि नागरिकलाई व्यापक ठगी गर्ने मिटरब्याजी श्याम परदेशी पक्राउ गरेका थिए । परदेशी हाल पूर्पक्षमा कारागारमा रहेका छन् ।