यही सडक र सरसफाईको अवस्थाले पर्यटक आउँदैनन् : पर्यटनमन्त्री राय

575


प्रदेश नं. २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भ्रमण वर्षलाई सफल बनाउन सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

जनवरी १ बाट भव्य रुपमा सुरु भएको भ्रमण वर्ष २०२० का अवसरमा वुधवार दिउँसो सर्लाहीको हरिपुर नगरपालिका–७, स्थित धार्मिक एवं पर्यटकीय स्थल चिताईन महादेव मन्दिरमा आयोजित जिल्ला स्तरीय वृहत अन्तक्र्रियालाई सम्वोधन गर्दै मन्त्री रायले अहिलेकै जस्तो फोहोरमैला र धूलो धुँवा रही रहे प्रदेश २ मा थप पर्यटक भित्र्याउन गाह्रो पर्ने बताए । उनले आफ्नो ठाउँको पर्यटकीय स्थलहरुको विकास तथा प्रवद्र्धनमा स्थानीय वासिन्दा र गाउँपालिका तथा नगरपालिका सक्रिय भएर लाग्नुपर्ने तर्क गरे ।

देशनै खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा प्रदेश २ मा अहिले पनि ठूलो जनसंख्या शौचालयको पहुँच भन्दा बाहिर रहेकोमा मन्त्री रायले चिन्ता व्यक्त गरे । फरक प्रसंगमा मन्त्री रायले प्रदेश २ का पर्यटकीय स्थलहरुमा भ्रमण गर्न आउने पर्यटक ढुक्कसँग बस्ने ठाउँ नरहेको बताए । यहाँ आउने पर्यटकलाई सबै खाले सेवा सुविधा उपलब्ध हुने किसिमले विकास गर्न स्थानीय तह अग्रसर भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपाल भ्रमण वर्ष २०२० सर्लाहीका संयोजक बैकुण्ठ सापकोटाको अध्यक्षतामा आयोजित अन्तक्र्रियामा प्रतिनिधि सभा सदस्यहरु नागेन्द्रकुमार राय र प्रमोद साह, प्रदेश सभा सदस्यहरु बेची लुंगेली र डिल्लीप्रसाद उपे्रती, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं उप्रमुख, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख लगायतले भ्रमण वर्षका सम्वन्धमा मन्तव्य राख्नु भएको थियो ।

भ्रमण वर्षलाई सफल बनाउन धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थान परिवर्तन गरी बैठक तथा अन्तक्र्रिया कार्यक्रम आयोजना भइरहेका छन् ।