पूर्णीमाको हत्यामा संलग्न आशंकामा खपांगी पक्राउ

396
मृतक पूर्णीमा मोक्तान । (तस्बिर सौजन्य : मोक्तानको फेसबुक पेज)
सोमबार बिहान घटनास्थलमा उपस्थित स्थानीयको भिड । (तस्बिर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

मलंगवा – सर्लाहीको बागमती नगरपालिका–५, राजघाट टेकानी स्थित बुढी बागमतीको बगरमा शव फेला परेकी पूर्णीमा मोक्तानको हत्या भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बागमती नगरपालिका–५, राजघाट निवासी ३२ वर्षीय ढकबहादुर खपांगीलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । प्रहरी उपरीक्षक पोखरेलका अनुसार ना. ४ च २५६३ नम्बर बलेरो जीपका चालक खपांगीलाई धनुषाको लालगढ स्थित मोडेल अस्पतालमा उपचार गराईरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरिएको हो । प्रहरी स्रोतका अनुसार खपांगीको खुट्टामा चोट लागेको छ ।

हत्यामा अरु धेरै जनाको संलग्नता हुन सक्ने भन्दै गम्भिर ढंगले अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्या नै भएको देखिन्छ’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘त्यसैले गम्भिर ढंगबाट अनुसन्धान प्रकृया अगाडी बढाएका छौं ।’

स्थानीय हाजिरमान मोक्तानकी २५ वर्षीया छोरी पूर्णिमा मोक्तानको शव फेला परेको थियो । यही पुस १८ गते शुक्रबार देखि बेपत्ता मोक्तानको सोमबार बिहान बुढी बागमतीको बगरमा खरले छोपेको अवस्थामा शव फेला परेको हो । मोक्तानको निधारको दाहिनेपट्टी र नाकको डाँडीमा सामान्य चोट लागेको देखिएको छ ।

स्थानीयले बगरमा खरले छोपेको अवस्थामा शंकाष्पद् बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरी चौकी राजघाट, ईलाका प्रहरी कार्यालय बरहथवा, ईलाका प्रहरी कार्यालय हरिवन र सशस्त्र प्रहरी बेसक्याम्प धरहराको टोली घटनास्थल पुगेको थियो । पछि जिल्ला प्रहरी कार्यालय मलंगवा मुद्धा फाँट प्रमुख उमाशंकर प्रसाद गुप्ता नेतृत्वको सुरक्षाकर्मी टोली घटनास्थल पुगेपछि दिउँसो मात्र घटनास्थल मुचुल्का उठाउने कार्य गरेको थियो ।

शुक्रबार रातीदेखि हराएपनि परिवारका सदस्यले आईतबार अपरान्ह ४ बजेतिर मात्रै आफूहरुलाई खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान गरी मृतकको शव परीक्षणका लागि दिउँसो सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगेको छ ।

शव भेटिएको छेउछाउ खोलाको बगरभरी खाडलहरु नहेरी जताततै जीप कुदेको पाईलाहरु देखिएको स्थानीयले बताए । शव फाल्नका लागि राती बत्ती नबाली हाँकेकाले खाडलहरुमा समेत जीप फसेको स्थानीयको अनुमान छ ।

घर छेउ रामपुरमा लागिरहेको महोत्सव हेरेर शुक्रबार राती आमाबुबा सहित सपरिवार घर फर्किएकी मोक्तान पुनः राती नै घरबाट बाहिर निस्केको बताईएको छ । स्थानीय बासिन्दाका अनुसार मोक्तान विवाहित भएपनि श्रीमान छाडेर माईतीमै बस्दै आएकी थिईन् ।