माघे संक्रान्तिमा खाने तरुल बेच्न सर्लाहीका किसानलाई भ्याईनभ्याई (फोटो फिचर)

472

राजघाट – यो वर्ष तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुशी भएका छन् । एकसाता यता जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने बरहथवा, राजघाट, कर्मैया, शंकरपुर, हजरिया स्थित खेतहरुमा तरुल खन्न किसानलाई भ्याईनभ्याई देखिएको छ ।

नजिकिँदै गरेको माघे संक्रान्तिका लागि धमाधम तरुल खनिरहेका किसान उचित मूल्य पाएपछि हौसिएका छन् । जिल्लाका किसानले अहिले तरुल प्रतिकिलो ५० देखि ८० रुपियाँ सम्ममा बिक्री गरिरहेका छन् ।

बागमती नगरपालिका–५, राजघाटका किसान बलराम उप्रेतीले गत वर्ष मुस्किलले प्रतिकिलो ३० रुपियाँमा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो ५० देखि ८० रुपियाँ सम्ममा बिक्री भइरहेको जानकारी दिए । तरुल किन्नका लागि व्यापारीहरु अहिले खेतमै आइरहेका छन् । यस वर्ष व्यापारीहरुले प्रति कठ्ठा १० हजारदेखि ३० हजार रुपैंया सम्ममा तरुल किनेको स्थानीय किसानले बताए ।

बागमती नगरपालिका–५, राजघाटकै अर्का किसान राजलाल महतोका अनुसार एक कठ्ठा खेतमा पाँचदेखि १० क्वीन्टलसम्म तरुल उत्पादन हुने गरेको छ । जात र फलाई अनुसार व्यापारीले खेतमै तरुलको मूल्य तोक्ने गरेको किसानले जानकारी दिए । आकाशे र पाताले जातको तरुलमा पाताले जातको तरुलको बढी मुल्य आउने राजघाटका किसान शंकरकुमार मैनालीले जानकारी दिए ।

फागुन देखि जेठ सम्म रोपिएको तरुल मध्य पुसदेखि फागुन सम्मै खन्ने गरिन्छ । सर्लाहीमा उत्पादन भएको तरुल काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा निर्यात हुने गरेको छ । स्थानीय स्तरमा पनि तरुल बिक्री हुने गरेको किसानले बताएका छन् । सर्लाहीमा दुईसय हेक्टर भन्दा बढी क्षेत्रफलमा तरुल खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।