मलंगवाको सडक विस्तारमा ढिलाई

247
सदरमुकाम मलंगवास्थित मुख्य बजारको सडक । (तस्बिर : जनार्जन/उज्यालो अभियान)

जनार्जन खत्री/मलंगवा – अतिक्रमणले साँघुरो बनेको सर्लाही सदरमुकाम मलंगवा बजारको मुख्य सडक विस्तारमा ढिलाई भएको छ ।

मलंगवास्थित जिविस चोक भन्दा दक्षिणतर्फ रहेको पोखरीदेखि पूर्व–पश्चिम हुलाकी सडकसम्मको १७ सय मिटर सडक विस्तार गरी कालोपत्रे गर्न नगरपालिकाले दुई पटक सूचना जारी गरिसकेको छ । सडकको मापदण्ड कायम गरी त्यसभित्र पर्ने संरचना हटाउन सूचना जारी गरिएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो पटक ३० दिने सूचना जारी गरी भर्खरै पुनः १५ दिने सूचना जारी गरिएको हो ।

सडक विस्तार गर्न पोखरीदेखि बाल मन्दिरसम्म खासै समस्या नभएपनि त्यहाँदेखि दक्षिण नेपाल बैंकसम्म अतिक्रमणका कारण समस्या रहेको मलंगवा नगरपालिका कार्यालयले जनाएको छ । ‘जिविस चोकबाट दक्षिणमा रहेको पोखरीदेखि बाल मन्दिरसम्म काम गर्न समस्या छैन, साइड क्लियर नै छ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘संघीय सरकारमार्फत बन्ने यो सडक ठेक्का लाग्ने बित्तिकै मापदण्ड भित्रका संरचना भत्काउन थाल्छौँ ।’

उनले घर भत्काउने तर सडक नबन्ने अवस्था आउने हो की ? भन्ने आशंकामा अहिलेसम्म नगरपालिकाले सूचना जारी गर्ने बाहेक कुनै काम गर्न नसकेको बताए । ‘हामीले घर भत्काएपछि सरकारले टेण्डर लगाएन भने नागरिकले दुःख पाउँछन्’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘घर पनि भत्किने सडक पनि नबन्ने अवस्था राम्रो होइन्, त्यसैले हामीले कार्यपालिकाबाट निर्णय गरेर मापदण्ड मात्रै तयार गरेर पठाएका छौँ ।’ सरकारले ३० मिटर सडक कायम गर्ने तयारी गरेपनि नगरपालिकाले कार्यपालिका बैठकबाट १७ मिटर मापदण्ड कायम गरेर पठाएको छ ।

मलंगवामा जिविस चोकदेखि उत्तरतर्फ र हुलाकी सडकबाट दक्षिणतर्फको सडक कालोपत्रे भइसकेको छ । अब जिविस चोकबाट हुलाकी सडकसम्मको सडक मात्रै कालोपत्रे गर्न बाँकी रहेको नगरप्रमुख निरसल साहले बताए । उनले कुनै पनि हालतमा मापदण्ड भित्रका भौतिक संरचना हटाएर यो सडक पनि विस्तार गरिने बताए ।

नगरप्रमुख साहले सडक विस्तार गर्ने तयारी गरिरहँदा मुद्दा मामलाको धम्की आउन थालेको गुनासो गरेका छन् । ‘यहाँ केही गर्न खोज्यो भने मुद्दा हालेर काम गर्नै दिइँदैन्, अहिले यो सडक विस्तारका क्रममा पनि त्यही समस्या झेल्नु पर्ने अवस्था आउँदै छ’, नगरप्रमुख साहले भने, ‘मुद्दा परेपनि अदालतले हाम्रै पक्षमा फैसला गरेर सडक विस्तार गर्ने पक्षमा उभिन्छ भन्ने विश्वास लिएका छौँ ।’

सदरमुकाम भएपनि मलंगवाको सडक अत्यन्त जीर्ण र साँघुरो छ । अत्यधिक चापका कारण साँघुरो सडकमा आवातजावत गर्न निकै मुस्किल पर्ने गरेको यात्रुले गुनासो गर्दै आएका छन् । साँघुरो सडकमा दुवैतर्फ अतिक्रमण गरी व्यापार व्यवसाय गरिँदै आएको छ ।