हत्याको आशंका
घनश्याम बलम्पाकी/राजघाट – सर्लाहीको बागमती नगरपालिका–५, राजघाट टेकानी स्थित बुढी बागमतीको बगरमा एक महिलाको शव फेला परेको छ ।
स्थानीय हाजिरमान मोक्तानकी २५ वर्षीया छोरी पूर्णिमा मोक्तानको शव फेला परेको प्रहरीले जनाएको छ । यही पुस १८ गते शुक्रबार देखि बेपत्ता मोक्तानको आज (सोमबार) बिहान बुढी बागमतीको बगरमा खरले छोपेको अवस्थामा शव फेला परेको हो । मोक्तानको निधारको दाहिनेपट्टी र नाकको डाँडीमा सामान्य चोट लागेको देखिएको छ ।
मोक्तानको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले घटनामा संलग्न भएको आशंकामा राजघाटकै एक बलेरो जीपका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे गम्भिर ढंगबाट अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
शुक्रबार रातीदेखि हराएपनि परिवारका सदस्यले आईतबार अपरान्ह ४ बजेतिर मात्रै आफूहरुलाई खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान गरी मृतकको शव परीक्षणका लागि दिउँसो सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगेको छ ।
शव भेटिएको छेउछाउ खोलाको बगरभरी खाडलहरु नहेरी जताततै जीप कुदेको पाईलाहरु देखिएको स्थानीयले बताए । शव फाल्नका लागि राती बत्ती नबाली हाँकेकाले खाडलहरुमा समेत जीप फसेको स्थानीयको अनुमान छ ।
घर छेउ रामपुरमा लागिरहेको महोत्सव हेरेर शुक्रबार राती आमाबुबा सहित सपरिवार घर फर्किएकी मोक्तान पुनः राती नै घरबाट बाहिर निस्केको बताईएको छ । स्थानीय बासिन्दाका अनुसार मोक्तान विवाहित भएपनि श्रीमान छाडेर माईतीमै बस्दै आएकी थिईन् ।