शुभतारा सहकारीको अध्यक्षमा पुनः नारायण कार्की

327
संस्थाका अध्यक्ष नारायण कार्की ।

हरिवन – सर्लाहीको हरिवन स्थित शुभतारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः नारायण कार्की चयन भएका छन् ।

आईतबार दिउँसो नेवा सेवा समाज हरिवनको सभाहलमा सम्पन्न संस्थाको सातौं साधारण सभाले कार्कीको अध्यक्षतामा पूरानै ७ सदस्यीय सञ्चालक समितिलाई पुनः चयन गरेको हो । पुनः चयन भएको सञ्चालक समितिमा मालिक गिरी उपाध्यक्ष, ताराकुमारी विश्वकर्मा सचिव, रमेशकुमार बर्मा कोषाध्यक्ष तथा सदस्यहरुमा दुर्गाबहादुर कार्की, ऋद्धि विक्रम कार्की र हरिप्रसाद पोखरेल रहेका छन् ।

त्यसअघि साधारण सभा उद्घाटन समारोह हरिवन नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवं नगरपालिका सहकारी बिभाग प्रमुख शम्भु प्रसाद मैनालीको प्रमुख आतिथ्यता रहेको थियो । हरिवन नगरपालिका वडा नंं. ११ का वडाध्यक्ष शेख मेहबुब रेजा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेको विशिष्ट आतिथ्यता रहेको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, श्यामबाबु कार्की लगायत अतिथि रहेका थिए । साधारण सभाकै अवसरमा संस्थाले आफ्ना दिवंगत शेयर सदस्य मैनुद्धिनको नाममा रहेको तीन हजार रुपैंयाको शेयर रकममा राहत स्वरुप त्यति नै रकम थप गरेर छ हजार रुपैंया बनाईदिएको छ ।

उत्तर कुमार मैनालीको सञ्चालन रहेको उद्घाटन समारोहमा उल्लेख्य शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाले आर्थिक बर्ष २०७५/७६ मा एक करोड ७८ लाख ९० हजार तिन सय १२ रुपैया ९४ पैसा कारोवार गर्दै ४ लाख १९ हजार ३ सय ४४ रुपैया १९ पैसा खुद् नाफा गरेको जनाएको छ । २ सय १८ जना पुरुष तथा १ सय ३४ जना महिला गरि ३ सय ५२ जना शेयर सदस्य रहेको संस्थामा ४९ लाख ८८ हजार २९६ रुपैंया कुल चुक्ता शेयर पूँजि रहेको छ ।

साधारण सभा उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि एवं अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)