लखन्देही खोलामा कठ्यांग्रिएर बसेका बेवारिसे वृद्धको उद्धार

131

लालबन्दी – सर्लाहीको पत्थरकोटस्थित लखन्देही खोलामा चिसोले कठ्यांग्रिएर बसिरहेका एक बेवारिसे वृद्धको शनिवार दिउँसो उद्धार गरिएको छ ।

स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरी ल्याएको ती वृद्धको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा उपचार भइरहेको छ । तराई मुलको जस्तो देखिने अन्दाजी ६५/७० वर्षका ती वृद्धको स्वास्थ्यमा चिसोले निकै असर गरेको पाइएको स्वास्थ्यकर्मी सुरेन्द्र खतिवडाले जानकारी दिए । वृद्धलाई उद्धार गरेर ल्याउँदाको भन्दा अहिले स्वास्थ्य अवस्था केही सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय लालबन्दीले वृद्धको नाम ठेगाना खुलाउने प्रयास भइरहेको जनाएको छ । चिसोले लगलग काम्नु भएका वृद्धलाई शनिवार साँझ लायन्स क्लब अफ लालबन्दीले कम्बल प्रदान गरेको छ । क्लबका पदाधिकारी प्राथमिक स्वास्थ्य केन्द्रमै पुगेर न्यानो प्रदान गर्न कम्बल उपलब्ध गराएको क्लबका उपाध्यक्ष राजकुमार न्यौपानेले बताए ।