महालक्ष्मी चिनी उद्योगमा राजपा समूहले लगाएको ताला नेकपा समूहले फोड्यो

424
बगदह स्थित महालक्ष्मी सुगर मिल । (तस्बिर : उज्यालो अभियान)

बगदह – सर्लाहीको गोडैता नगरपालिका–६ बगदह स्थित महालक्ष्मी सुगर मिलमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवको नेतृत्वमा तालाबन्दी गरिएको छ ।

विहिबार दिउँसो उद्योगपति विरेन्द्र कनौडिया, जनप्रतिनिधि र किसानहरुबीच उद्योग परिसरमा राखिएको भेला विना निश्कर्ष टुंगिएपछि राजपाबाट निर्वाचित मेयर यादव नेतृत्वको समूहले उद्योग प्रशासन कोठामा ताला लगाएको थियो । लगतै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेता एवं संविधान सभा सदस्य शिवपुजन राय नेतृत्वको समूहले ताला फुटाएको छ ।

गतवर्षकै करोडौं भुक्तानी नगरी यसवर्ष उद्योग सञ्चालन गर्ने तयारी गरेकाले तालाबन्दी गरिएको मेयर यादवले बताए । गतवर्षको भुक्तानी नदिएसम्म उद्योग चलाउन नदिने किसानहरुको माग आएकाले आफूहरुले उद्योगमा ताला लगाएको मेयर यादवको भनाई छ ।

यता नेकपाका नेता रायले भने आगामी सोमबारसम्ममा किसानलाई गतवर्षको भुक्तानी गरिसक्ने उद्योगपतिबाट प्रतिवद्धता आएकाले ताला फुटाईएको बताए । सोमबारसम्म जसरी पनि भुक्तानी सक्ने प्रतिवद्धता आएपछि किसानहरुको समूहले ताला फोडेको रायले दाबी गरे ।

उखु किसानलाई बक्यौता रकम दिलाउन विहिबार गोडैता नगरपालिकाको पहलमा चिनी उद्योगका सञ्चालक, जनप्रतिनिधि र उखु किसानबीच छलफल आयोजना गरिएको थियो । छलफलमा जिल्लाको दक्षिणी भेगबाट सयौँको संख्यामा उखु किसानहरु सहभागी भएका थिए ।

त्यसक्रममा गत वर्षको रकम भुक्तानि गर्ने भन्दै उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले पटक–पटक प्रतिवद्धता जनाएपनि पैसा नदिएको भन्दै किसानले उनीमाथि आक्रोस व्यक्त गरेका थिए । सांसद, स्थानीय तहका प्रमुख लगायतको उपस्थितिमा आयोजित छलफलमा उखु किसानले वर्षदिन अघि बेचेको उखुको पैसा नपाएको झोकमा उद्योगी कनौडियामाथि आक्रमणकै प्रयास समेत गरेका छन् ।

तत्कालै सुरक्षाकर्मीले उद्योगी कनौडियालाई सुरक्षा प्रदान गरेका थिए । छलफलमा उद्योगी कनौडियाले तत्कालै किसानको बाँकी रकम भुक्तानि गर्ने प्रतिवद्धता जनाए । उद्योगी कनौडीयाले आगामी सोमबारसम्म किसानको बाँकी रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । कनौडियाले बोलिरहेको अवस्थामा किसानहरुको समूहले भुक्तानी गर्न नसक्ने भए उद्योग बन्द गर्न भन्दै विरोध जनाएपछि कनौडियाले त्यसोभए चलाउँदिन भनेका कारण वातावरण एक्कासी विग्रेको थियो ।

गत वर्षबाट सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योगले किसानलाई २१ करोड रुपैयाँ भुक्तानि गर्न बाँकी छ । महालक्ष्मी सुगर मिलले गतवर्ष ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य नागेन्द्रकुमार राय, प्रदेश सांसद् अशोक कुमार यादव, बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह लगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रममा किसानहरुको तर्फबाट बोल्ने प्रतिनिधिले गतवर्षको भुक्तानी नपाएसम्म उद्योग चल्नै नदिने चेतावनी दिए । किसानहरुको तर्फबाट मुकेश ठाकुर, मनोज सिंह, उखु किसान संघर्ष समितिको संयोजक रामसोगारथ यादव लगायतले बोल्दै पूरानो भुक्तानी नदिएसम्म चिनी उद्योग चलाउनै नदिने चेतावनी दिएका छन् ।