बगदह – गत वर्ष बिक्री गरेको उखुको पैसा नदिएसम्म सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालन हुन नदिने किसानले चेतावनी दिएका छन् ।
पुरानो रकम भुक्तानि नगरी उद्योग सञ्चालनका लागि तयारी सुरु गरिएको भन्दै किसानले विरोध जनाएका छन् । उखु किसानलाई बक्यौता रकम दिलाउन विहिबार गोडैता नगरपालिकाको पहलमा चिनी उद्योगका सञ्चालक, जनप्रतिनिधि र उखु किसानबीच छलफल आयोजना गरिएको थियो । छलफलमा जिल्लाको दक्षिणी भेगबाट सयौँको संख्यामा उखु किसानहरु सहभागी भएका थिए ।
त्यसक्रममा गत वर्षको रकम भुक्तानि गर्ने भन्दै उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले पटक–पटक प्रतिवद्धता जनाएपनि पैसा नदिएको भन्दै किसानले उनीमाथि आक्रोस व्यक्त गरेका थिए । सांसद, स्थानीय तहका प्रमुख लगायतको उपस्थितिमा आयोजित छलफलमा उखु किसानले वर्षदिन अघि बेचेको उखुको पैसा नपाएको झोकमा उद्योगी कनौडियामाथि आक्रमणकै प्रयास समेत गरेका छन् ।

तत्कालै सुरक्षाकर्मीले उद्योगी कनौडियालाई सुरक्षा प्रदान गरेका थिए । छलफलमा उद्योगी कनौडियाले तत्कालै किसानको बाँकी रकम भुक्तानि गर्ने प्रतिवद्धता जनाए । उद्योगी कनौडीयाले आगामी सोमबारसम्म किसानको बाँकी रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उखु उत्पादक महासंघ गोडैता नगरपालिकाका अध्यक्ष समेत रहेका नगरप्रमुख देवेन्द्र यादवले पोहोर सालको भुक्तानि नगरेसम्म कुनैपनि हालतमा उद्योग सञ्चालन हुन नदिने जानकारी दिएका छन् । गत वर्षबाट सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योगले किसानलाई २१ करोड रुपैयाँ भुक्तानि गर्न बाँकी छ । महालक्ष्मी सुगर मिलले गतवर्ष ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य नागेन्द्रकुमार राय, प्रदेश सांसद् अशोक कुमार यादव, बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह लगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रममा किसानहरुको तर्फबाट बोल्ने प्रतिनिधिले गतवर्षको भुक्तानी नपाएसम्म उद्योग चल्नै नदिने चेतावनी दिए । किसानहरुको तर्फबाट मुकेश ठाकुर, मनोज सिंह, उखु किसान संघर्ष समिति क्षेत्र नं. ४ का संयोजक रामसोगारथ यादव लगायतले बोल्दै पूरानो भुक्तानी नदिएसम्म चिनी उद्योग चलाउनै नदिने चेतावनी दिएका छन् ।