कविलासी नगरपालिका एक सातादेखि ठप्प, सरुवा माग्दै प्रमुख प्रशासकीय अधिकृत पुगे काठमाण्डौं

556

कविलासी – सर्लाहीको कविलासी नगरपालिकाको कामकाज एक सातादेखि ठप्प हुँदा नगरवासी मारमा परेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो सरुवा माग गर्दै तीन दिन अघि मन्त्रालय पुगेका हुन् । उनले अब कविलासी नगरपालिका नर्फकिने उज्यालो अभियानसँगको कुराकानीमा बताएका छन् । प्रदेश सभा सदस्य सञ्जय यादवको पटक–पटकको धम्कीले गर्दा काम गर्न सक्ने अवस्था नरहेको महतोले बताएका छन् ।

‘कविलासी नै घर भएका माननीय ज्यूको धम्की सहेर अब म त्यहाँ बसेर काम गर्नै सक्दिन्’, सरुवा माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौं पुगेका अधिकृत महतोले भने, ‘अन्यत्र सरुवा गरिएपछि मात्रै यहाँबाट फर्किन्छु ।’

सर्लाही क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य यादवले आफू अनुकूल काम नगरे ज्यान मार्ने धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाएका छन् । यसअघि पनि पटक–पटक थर्काउने गरेको भएपनि पछिल्लो पटक प्रदेश सभा सदस्य यादवले आफूलाई पुस ७ गते सम्पर्क गरी तथानाम गाली गरेको महतोको भनाई छ । प्रदेश सांसद यादवले धम्की दिएको लगायत कुरा उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत महतोले जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

ऐन नियम र कानुन बमोजिम काम गर्न खोज्दा पनि प्रदेश सभा सदस्य यादवले जहिल्यै धम्काउने गरेको प्रमुख प्रशासकीय अधिकृत महतोले गुनासो गरेका छन् । यही घटनाले एक सातासम्म नगरपालिका कार्यालय ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । राजनीतिक टकराबले गर्दा नगरपालिका भित्र विकास निर्माणका काम र अन्य सेवा प्रभावित भएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

यस्तै कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर रायले प्रदेश सभा सदस्य यादवले कर्मचारीमाथि गरिरहेको व्यवहार ठीक नभएको बताएका छन् । उज्यालोसँग मंगलवार दिउँसो कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रदेश सभा सदस्य यादवले आफू अनुकूल चलाउन खोज्दा जो अधिकृत आएपनि छोटो अवधीमै सरुवा गराएर जाने गरेका छन्’, नगरप्रमुख यादवले भने, ‘कसैले कानुन विपरीत काम गरे सम्वन्धित निकायमा गएर उजुरी गर्नुपर्छ, सांसद जस्तो व्यक्ति यसरी गालीगलौजमा उत्रिनु ठीक होइन ।’

तर प्रदेश सभा सदस्य सञ्जय यादव भने नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँछन् । आफूले २०७४ सालदेखि नगरपालिकाको हरहिसाब माग गर्दा नदिएको यादवले बताएका छन् । ‘हरेक काममा भ्रष्टाचार र अनियमितता गरी मेयर र हाकिमले आफ्नै किसिमले नगरपालिका चलाईरहेका छन्, म सांसद जस्तो व्यक्तिले हिसाब मागेको तीन वर्षसम्म पनि पाएको छैन्’, सांसद् यादवले उज्यालो अभियानसँग भने, ‘नागरिकले केही सूचना लिन खोजे के अवस्था होला !’