दुई युवाले बालगृह र वृद्धाश्रममा जन्म दिन मनाए

304
हरिवनको घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई ब्लांकेट प्रदान गर्दै रंजिता गुरुङ (खादा ओडेकी) । (तस्बिर : उज्यालो अभियान)

हरिवन – मंगलबार दुई युवाले आफ्नो जन्मदिन सर्लाहीको छुट्टाछुट्टै स्थानमा रहेका बालगृह, विद्यालय र वृद्धाश्रमलाई सहयोग गर्दै मनाएका छन् ।

चितवन जिल्ला घर भई मुलुकका विभिन्न ठाउँमा सामाजिक सेवामा सकृय युवा अभियन्ता रञ्जिता गुरुङले हरिवन नगरपालिका–५, घुर्काैली स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृह र हरिपुर नगरपालिका अन्तर्गत पीडारीको ढापटोल स्थित सुस्तश्रवण विद्यार्थी मात्र अध्यापनरत जनता आधारभूत विद्यालयलाई सहयोग गरेकी छिन् । गुरुङले बालगृहमा आश्रीत बालबालिकासँगै केट काटेर जन्मदिन मनाईन् भने बालगृहलाई १० थान जाडोमा ओड्न प्रयोग हुने ब्लांकेट, ६ बोरा चामल, एक कार्टुन खानेतेल सहित विभिन्न खाद्यान्न सहयोग गरेकी छिन् । प्रदेश सांसद् बेची लुंगेलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, नेकपाका नेताहरु चूडामणि वाग्ले, भरतकुमार कार्की, निशान थापा मगर, कामना क्याप्छाकी, विकासा टिभी युटुभ च्यानलका सञ्चालक विकास सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै गुरुङले जन्मदिनकै अवसरमा मंगलबार नै हरिपुर नगरपालिका अन्तर्गत पीडारी स्थित सुस्तश्रवण विद्यार्थी मात्र अध्यापनरत जनता आधारभूत विद्यालयलाई १३ थान ब्लांकेट प्रदान गरेको सहयोगी निशान थापा मगरले जानकारी दिए ।

प्रदेश सांसद बेची लुंगेलीले पछिल्लो समय युवाहरुमा समाजसेवाको भावना विकास हुँदै गएको भन्दै खुशी प्रकट गरिन् । जन्मदिनको अवसरमा यस्तोखाले सहयोग गर्ने भावनाको विकासले समाजमा सकारात्मक प्रभाव पार्ने लुंगेलीको धारणा थियो । बालबालिकालाई थोरै भएपनि सहयोग गर्दै उनीहरुसँगै जन्मदिन मनाउन पाउँदा आफूलाई निकै गर्व महसुस भएको गुरुङले बताईन् । आगामी दिनमा पनि यस्ताखाले सहयोग जारी राख्ने गुरुङको धारणा थियो ।

महतले मनाए वृद्धाश्रममा जन्मदिन

लालबन्दीको जुटपानी स्थित पद्म–भुवनेश्वरी वृद्ध सेवा आश्रममा वृद्धवृद्धाहरुसँगै केक काटेर जन्मदिन मनाउँदै युवा व्यवसायी विनोद महत । (तस्बिर : उज्यालो अभियान)

त्यस्तै हरिवन नगरपालिका–८, चापिनी घर भई हरिवन बजारमा फर्निचर एण्ड फर्निसिङ् व्यवसाय गर्दै आएका युवा व्यवसायी विनोद महतले समेत मंगलबार आप्mनो जन्मदिन लालबन्दी नगरपालिकाको जुटपानी स्थित पद्म भुवनेश्वरी वृद्ध सेवाआश्रममा मनाएका छन् । फर्निचर एण्ड फर्निसिङ् व्यवसायी महतले सपरिवार वृद्धाश्रममै पुगेर वृद्धवृद्धाकाबीच केक काटेर जन्मदिन मनाएका हुन् । ४० जना वृद्धावृद्धा एवं बालबालिकालाई मिष्ठान भोजन गराउँदै महतले आफ्नो जन्मदिन मनाएका थिए । वृद्धाश्रममा आश्रीत वृद्धवृद्धाहरुको आशिर्वाद सहित जन्मदिन मनाउन पाउँदा आफू हर्षित भएको महतले बताए ।
वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले पछिल्लो समय जन्मदिन, पीतृ सम्झना लगायतको अवसरमा वृद्धवृद्धालाई मिष्ठान भोजन गराउनेहरु बढन थालेको बताईन् ।