सर्लाहीमा भ्रमण वर्षलाई भव्य स्वागत गरिने

मलंगवा – सर्लाहीमा नेपाल भ्रमण वर्ष २०२० अर्थात् भिजिट नेपाल ट्वान्टी–ट्वान्टीको भव्य रुपमा शुभारम्भ गरिने भएको छ ।

भ्रमण वर्षलाई सफल बनाउन गठित जिल्ला समन्वय समितिको आइतवार सदरमुकाम मलंगवामा बसेको बैठकले जनवरी १ तारिख अर्थात यही पुस १६ गते वुधवार भव्य रुपमा भ्रमण वर्षको स्वागत गर्ने निर्णय गरेको हो । बैठकले त्यस दिन सदरमुकाम मलंगवास्थित सीमावर्ती नाकामा भारतको सोनवर्षाबाट आउने पर्यटकलाई स्वागत गर्ने र त्यही दिन साँझ जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयहरु र होटल व्यवसायमा दीपावली गर्ने निर्णय भएको समितिका जिल्ला सदस्य प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति सर्लाहीका संयोजक बैकुण्ठ सापकोटाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योञ्जन, अन्य सरोकारवाला र नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!