सडक जीर्ण हुँदा नाढीताल जाने पर्यटक घटे

195
सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर – प्रदेश २ कै प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल पुग्ने गतिलो सडक नहुँदा त्यहाँ भ्रमण गर्न जानेहरुलाई समस्या भएको छ ।

ठूलो संख्यामा स्थानीय वासिन्दा ताल अवलोकन, पिकनिक र मनोरञ्जनका लागि त्यहाँ जाने इच्छा राखेपनि सडक खराब हुँदा समस्या भएको गुनासो गरेका छन् । नाढीमन तालसम्म पुग्न पूर्व–पश्चिम राजमार्ग र सदरमुकाम मलङ्गवाबाट कुनै पनि राम्रो सडक छैन् । तालसम्म पुग्ने सबै भित्री सडक धूलाम्मे र अत्यन्त जीर्ण रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट सागरनाथ हुँदै तालसम्म पुग्ने सडक र सदरमुकाम मलंगवाबाट ब्रह्मपुरी हुँदै तालसम्म आउने सडक अत्यन्त धूलाम्मे छ ।

नेपाली सेनाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै विभिन्न संरचना निर्माण गरेपछि आन्तरिक पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको नाढी ताल पछिल्लो समय सरसफाईको कमी र दयनिय सडकका कारण ओझेलमा परेको छ । सरसफाईको अभावमा ताल क्षेत्र कुरुप बनेको छ । सेनाले बनाएका विभिन्न संरचना अहिले अस्तव्यस्त अवस्थामा छन् ।

संरक्षणमा चासो नदिँदा एक पटक तालको भ्रमणमा आउने पर्यटक पुनः फर्किएर आउने मन नगर्ने अवस्था रहेको स्थानीय कपिलदेल सिंहले बताए । ‘यहाँ एक पटक आउने व्यक्ति फर्किएर आउने अवस्था छैन्, जो पहिलो पटक आउँछ सडककै धूलोले बिरामी हुने अवस्था छ’, सिंहले भने, ‘तालमा आएपछि पनि अस्तव्यस्त अवस्था देखेर फेरि दोहो¥याएर आउने मन नै गर्दैनन् ।’
तालमा रहेका मोटरबोट समेत व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन् । गाउँपालिका कार्यालय र ताल संरक्षण समितिले बेवास्ता गर्दा मोटरबोटको सही सदुपयोग नभएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् । नेपाली सेनाले हस्तान्तरण गरेका केही बोट अहिले जीर्ण अवस्थामा थन्काइएको छ ।

नाढीमन तालको प्रचारप्रसार गर्न पछिल्लो समय केही कार्यक्रम हुन थालेका छन् । तर त्यहाँ कार्यक्रम गर्दा धूलाम्मे सडक हुँदै अतिथि आउन नमान्ने, खानेबस्नेको सुविधा नरहेको जस्ता समस्या झेल्नु परेको आयोजकले बताएका छन् ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी तालको संरक्षण गर्ने काम गरिरहेको बताएका छन् । ‘तालसम्म आउँदा अन्य स्थानीय तहको सडक हुँदै आउनुपर्छ, सर्लाहीमा सडकको अवस्था सबैतिर उस्तै छ’, गाउँपालिका अध्यक्ष महतोले भने, ‘तालसम्म आउने गाउँपालिका भित्रको सडकको अवस्था सुधार गर्न हामी लागि परेका छौँ ।’ उनले तालको संरक्षण गर्न गुरुयोजना बनाएरै काम भइरहेको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि तालको संरक्षणमा विशेष चासो दिएर पहल गरिरहेको गाउँपालिका अध्यक्ष महतोको भनाई छ । उनले तालमा सरसफाई गर्नेदेखि अतिक्रमण हुन नदिन गाउँपालिकाले बर्सेनी काम गरिरहेको जानकारी दिए । गाउँपालिकाको आम्दानीको प्रमुख स्रोत ताललाई व्यवस्थित बनाउन गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने महतोले बताए ।