लागत बढेपनि तीन वर्षदेखि उखुको एउटै मूल्य

172

उखु किसानको पीडा

लालबन्दी – सरकारले गत वर्षकै उखुको खरिद मूल्यलाई यो वर्ष निरन्तरता दिएको छ । यस सँगै उखुको मूल्यमा रहेको अन्यौलता हटेको छ ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले यस वर्षको उखुको खरिद मूल्य गत वर्षकै बराबर अर्थात प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको हो । यो तिन वर्षदेखिको लगातारको एउटै मूल्य हो । न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको समर्थन मूल्य गत आइतवार मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

समर्थन मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने छन् । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसँगको छलफलबाट नै तोकिएको कृषि मन्त्रालयले जनाएको छ । मंसिर दोस्रो साता मन्त्रालयमा उद्योगी र किसान प्रतिनिधिसंग भएको छलफलमा गत वर्षकै मूल्यमा उखु खरिद र बिक्रिका लागि समझदारी बनेको मन्त्रालयको दाबी छ ।

कृषि मन्त्रालयले पनि उखुको सर्मथन मूल्यबारे किसान र उद्योगीसंग छलफल गरेको थियो । गत वर्षकै मूल्यमा मिलहरुलाई उखु क्रसिङ गर्न समझदारी गरेर उखु काट्न सुरु गरिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार इन्दुंशकर चिनी उद्योग हरिवनमा उखु बिक्री गर्ने किसानले धमाधम उखु काट्न थालिसकेका छन् ।

इन्दुुशंकर चिनी उद्योग प्रशासनका अनुसार सुक्रवारबाट उखु क्रसिङ सुरु गर्ने तयारी छ । जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालन बारे अन्यौलता छ । अन्नपूर्णले किसानलाई दुई/तीन वर्षदेखिको भुक्तानि दिन बाँकी रहेकाले यो वर्ष सञ्चालन हुने/नहुने भन्ने टुंगो लाग्न सकेको छैन् ।

गत वर्षदेखि सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योगले पनि गत वर्ष बेचेको उखुको पैसा दिन बाँकी रहेको दक्षिणी भेगका किसानले गुनासो गरेका छन् । इन्दुशंकरबाट ढिलो चाँडो पैसा पाएपनि अन्नपूर्ण र महालक्ष्मीले वर्षौ पैंसा नदिँदा किसान मारमा परेका छन् ।