वनको जग्गा किनबेच गरी घरटहरा निर्माण

171
कालिन्जोरस्थित दोङखोरिया गाउँमा वनको जग्गाको निर्माण गरिएको घर । (तस्बिर : उज्यालो अभियान)

कालिन्जोर – सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घर टहरा निर्माण भइरहेको छ ।

फूलजोर बाबा साझेदारी वन क्षेत्रको पलोट (चौडी) मा पक्की घर समेत निर्माण भएका छन् । शहर बजारको झैं वनको जग्गामा पक्की घर निर्माण गरी व्यापार व्यवसाय सञ्चालन भइरहेका छन् । स्रोतका अनुसार आपसमा कागज बनाएर वनको जग्गा खरिद बिक्री नै भइरहेको छ । केही वर्ष अघिसम्म सिसौले भरिएको प्लट क्षेत्रमा अहिले घर निर्माण गर्नुका साथै मकै, तोरी, बेसार लगायतका बाली र तरकारी खेती भइरहेको छ ।

प्लटका सबै सिसौ तस्करी भएका छन् । सुकुम्वासीको नाममा पलोटको जग्गा अतिक्रमण गरेर बिक्री गरी आम्दानी गर्नेहरु पनि छन् । कृषि उपज राम्रो उब्जिने भएकाले प्लट क्षेत्रको जग्गामा बाहै्र महिना बाली लगाइन्छ ।

बाह्रै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने कालिन्जोरको दोङखोरिया क्षेत्रमा स्थानीय केही परिवार र छिमेकी गाउँ देउराली, झरझरा लगायतका क्षेत्रबाट आएका व्यक्तिले वनको जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरी खेतीपाती गर्दै आएका छन् । वन अतिक्रमण गरेर बसेकै बस्तीमा नगरपालिकाले गत वर्ष नाला निर्माण गरेको छ । त्यस गाउँमा बिजुलीको सुविधा पनि पुगेको छ ।

केही वर्षअघि साबिक जिल्ला वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा त्यस ठाउँमा वन अतिक्रमण गरी बनाइएको संरचना भत्काउनुका साथै बालीनाली नष्ट गरेको थियो । तर पछिल्लो समय अतिक्रमण खाली गराउन चासो दिइएको छैन् । बस्ती विस्तार हुँदै जाँदा वन पनि अतिक्रमणमा पर्दै गएको छ । सुरुमा केही घर निर्माण गरिएका भएपनि अहिले बाक्लो बस्ती बसेको छ ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले वनको जग्गा किनबेच गर्नु गैर कानुनी कार्य भएको बताए । उनले यस बारेमा तत्कालै आफू त्यहाँ गएर बुझ्ने समेत बताएका छन् । ‘सुकुम्वासीको नाममा हुकुम्वासीले वन अतिक्रमण गरेको सूचना हामीलाई आइरहेको छ’, डिभिजन वन प्रमुख देवले भने, ‘तत्कालै अन्य निकायसँग समन्वय गरी त्यस्तो गैर कानुनी कार्य रोक्छौँ ।’

सर्लाहीमा पछिल्लो समय संरक्षण र कडाईका साथ रेखदेख नहुँदा फूलजोर बाबासहित केही साझेदारी वनमा तस्करी बढेको छ । वन रक्षकको आँखा छलेर तस्करले सरकारी वनबाट काठ तस्करी गर्दा वन क्षेत्र उजाड बन्दै गएको भन्दै स्थानीय वासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

कालिन्जोरमा पनि स्थानीयद्वारा अतिक्रमणमा परेको जग्गा र बस्ती छेउछाउ जंगल उजाड बनेको छ । कुनै समय सालका रुख अत्यधिक रहेको फूलजोर बाबा साझेदारी वनमा अहिले बांगो र साना बिरुवा बाहेक सालका राम्रा रुख देख्न समेत मुस्किल पर्छ । जग्गा अतिक्रमणमा बसेका केही काठ तस्करीमा समेत संलग्न रहेको आरोप लाग्ने गरेको छ ।