पर्यटक तान्न कैलाशपुरीमा झोलुंगे पुल निर्माण

141
कैलाशपुरीमा निर्मित पुल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको उत्तरी चुरभेग स्थित हरिवन नगरपालिका–१ मा रहेको ऐतिहाँसिक धार्मिक एवं पर्यटकीय स्थल कैलाशपुरीमा झोलुंगे पुल निर्माण भएको छ ।

कैलाशपुरी डाँडास्थित महादेव मन्दिरमा पुग्ने दर्शनार्थी तथा पर्यटकलाई मनोरञ्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले मन्दिर नजिकैको खोल्सामा ४२ लाख रुपियाँ लागतमा झोलुंगे पुल निर्माण गरिएको हो । केही दिनअघि निर्माण पूरा भएको पुलको सोमवार हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले उद्घाटन गरे । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कैलाशपुरीलाई थप व्यवस्थित बनाउन नगरपालिकाले निरन्तर पहल गरिरहेको नगरप्रमुख प्रसाईले बताए ।

उनले निकट भविष्यमै कैलाशपुरीमा भ्यू टावर र अन्य संरचना निर्माण गरी पर्यटक आकर्षित गर्ने नगरपालिकाको योजना रहेको बताए । त्यसका लागि प्रदेश र केन्द्र सरकारसँग सहयोगको अपिल गरिएको नगरप्रमुख प्रसाईले बताए । झोलुंगे पुल निर्माण भएसँगै मन्दिर क्षेत्रमा घुमफिर गर्न आउनेहरु बढेका उपभोक्ता समितिका अध्यक्ष टंकबहादुर राईले जानकारी दिए ।