ईश्वरपुरको वार्ता मिलेन

494

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा देखिएको विवाद समाधान गर्न सोमवार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

त्यहाँ नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विभिन्न १३ बुँदे माग राख्दै आइतवारबाट धर्ना सुरु गरेका छन् । धर्नाका कारण नगरपालिकाको कामकाज ठप्प भएको छ । असन्तुष्ट पक्षको मागका सम्वन्धमा छलफल गर्न सोमवार दिउँसोबाट साँझ अबेरसम्म भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । मंगलवार पुनः वार्तामा बस्ने सहमति भएको नेताहरुले बताएका छन् ।

कांग्रेस र राजपाले आर्थिक वर्ष २०७५/०७६ को हर हिसाब सार्वजनिक हुनुपर्ने, आर्थिक वर्ष २०७६/०७७ को नगर सभा पूर्ण रुपमा सार्वजनिक हुनुपर्ने, नगरपालिका भित्रका खोलाको रकम अमानतमा उठाइएकाले रकम सार्वजनिक हुनुपर्ने तथा खोला अभिलम्ब ठेक्का लगाउनुपर्ने लगायतका माग राखिएको छ । यि माग सम्वोधनका लागि भन्दै कांग्रेस र राजपा नेपालका नेताहरु नगरपालिकाको गेटमा ब्यानर टाँगेर धर्नामा बसिरहेका छन् । धर्नाका कारण नगरपालिका ठप्प भएपछि सेवाग्राही भने मारमा परेका छन् ।