अढाई बिघाको गाँजा खेती नष्ट (फोटो फिचर)

635

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, बेलडाँडामा अवैध किसिमले लगाइएको गाँजा खेती प्रहरीले आज नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवा र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगस्थित चुरे क्षेत्रमा झण्डै अढाई बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

बिक्री गर्ने उद्देश्यले पाखो बारीमा रोपिएको करिव दस हजार बोट गाँजा फडानी गरिएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

सर्लाहीमा भर्खरै सरुवा भएर आउनु भएका एसपी पोखरेलकै नेतृत्वमा आज बिहानै प्रहरीको टोली सुराकीको आधारमा गाँजा फडानीका लागि बेलडाँडा पुगेको थियो । आफूहरु त्यहाँ पुग्दा स्थानीय वासिन्दा कोही पनि देखा नपरेका एसपी पोखरेलले बताउनुभयो ।

जिल्लाको उत्तरी चुरेक्षेत्रका अन्य बस्तीमा पनि यसैगरी लुकिछिपी गाँजा खेती भइरहेको सूचना आएकाले प्रहरी परिचालन गरेर नष्ट गर्ने योजना बनाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।