वर्षाले किसानलाई राहत

126

मलंगवा – हालैको वर्षाले हिउँदे बालीलाई फाइदा पुगेपछि सर्लाहीका किसान खुशी भएका छन् ।

शुक्रवार राती जिल्लामा जमिन ओसिलो हुने गरी भारी वर्षा भएको थियो । वर्षाले मकै, गहुँ, तोरी, लहरी, उखु, आलु लगायतका बालीलाई फाइदा पुगेपछि किसान खुशी भएका हु्न् । वर्षाले विशेष गरी सिँचाई सुविधा नरहेको क्षेत्रका किसानलाई राहत मिलेको छ ।

अहिलेको वर्षाले थन्काउन बाँकी रहेको धान बालीमा केही मात्रामा क्षति गरेपनि अन्य सबै हिउँदे बालीलाई राम्रो फाइदा गरेको कृषि ज्ञान केन्द्रका देवानन्द रायले जानकारी दिए । सर्लाहीमा उत्तरी चुरे क्षेत्र र पूर्वी तथा दक्षिणी भेगका किसानले आकाशे वर्षाकै भरमा खेती गर्दै आएका छन् । लामो समयदेखि पानी नपरेर निराश भएका किसान शुक्रवार रातीको वर्षापछि खुशी हुँदै कृषि कर्ममा व्यस्त छन् ।

जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणी भेगका अझ बढी पानी परेको थियो । विष्णु गाउँपालिकासहित दक्षिणी भेगमा १२/१४ घण्टासम्म वर्षा भएको स्थानीय अकलेस बैठाले जनाएका छन् । बिहिवार र शुक्रवार दुई दिन मौसम बद्ली भएर धुम्मिनुका साथै पानी परेपनि शनिवारबाट भने यस क्षेत्रको मौसम सफा छ ।